विभेदकारी सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंकका कर्मचारी विरोधमा



काठमाडौं । एनआइसी एशिया बैंकका कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्धता नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् । बैंक कर्मचारी युनियनले कोषको ऐन संसोधनको माग गर्दै प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा कालो ब्यानर प्रदर्शन गरेका हुन् ।

कोषको विभेदकारी बुँदाहरु संसोधन नगरेसम्म बैंकका कर्मचारी कोषमा आवद्धत नहुने भएकाले असन्तुष्टिका जनाइएका बुँदा संसोधन गर्न उनीहरुले कोषलाई माग गरेका छन् ।

सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न माग गरेका थिए ।

कोषको योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नु पर्ने आवस्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनमा कदापी संलग्न हुन नसकिने कुरामा कटिबद्ध रहेको संघका अध्यक्ष सुमन थापाले बताए ।

‘सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितको लागी यो योजनाले काम गर्ने छ भन्ने हाम्रो अपेक्षा विपरीत उक्त योजनाले बैंकिङ्ग कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लागु गर्दै वाध्यकारी बनाउन खोजेको हुनाले सबै कर्मचारी एक्यबद्ध भई आन्दोलनमा उत्रिनु परेको हो,’ बैंक कर्मचारी युनियन अध्यक्ष थापाले भने, ‘ एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने होइन तर यथावस्थामा जुन विभेद गरिएको छ, त्यसको हामी विपक्षमा छौं र हामीले राखेका बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्नेछौं ।’

कर्मचारीको माग पुरा गरी न्यायोचित ढङ्गबाट कोषको कार्यविधि परिमार्जन नगरेसम्म दबाब निरन्तर राख्ने उनले बताए ।


क्लिकमान्डु