स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि जारी, यस्ता छन् मूल्यांकनका सूचक



काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७८’ जारी गरेको छ ।

स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत् र प्रभावकारी बनाउन तथा वित्त व्यवस्थापनका सम्भावित जोखिम क्षेत्रहरुको पहिचान र यसको लेखाजोखा गर्ने उद्देश्यले वित्तीय सुशासन मूल्यांकन कार्यविधि जारी गरिएको हो ।

जोखिम मूल्यांकनका आधारहरुमा स्थानीय तहको कार्य प्रकृया, नतिजा र वित्तीय अनुशासनलाई मुख्य सूचक मानिएको छ । जसमा प्रक्रियाका लागि ५३, नतिजाका लागि १३ र वित्तीय अनुशासनका लागि ३४ अंकभार तोकिएको छ ।

कार्यविधिमा कानूनी प्रक्रिया उल्लंघनको जोखिम देखाउने ५३ वटा सूचकहरु छन् । यसमा बजेट पेश गर्ने, कार्यान्वयन गर्ने, मध्यमकालीन खर्च संरचना बनाउने, आवधिक योजना तयार पार्ने र त्यसको कार्यान्वयन, अनुगमन तथा मूल्यांकनका विषयहरुलाई समेटेर यी सूचकहरु तयार पारिएका छन् । त्यस्तै, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा संघ र प्रदेशबाट प्राप्त मार्गदर्शनको पालना भए-नभएको विषयलाई पनि जोखिम मूल्यांकन सूचकका रुपमा राखिएको छ ।

जनताको जीवनमा परिणाममुखी र सकारात्मक परिवर्तन नहुने गरी सार्वजनिक स्रोतको प्रयोग हुने जोखिमका सूचकहरु १३ वटा छन् । यसमा स्वीकृत आवधिक तथा एकीकृत योजनाको सूचीमा रहेका परियोजनालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरी पूर्णरुपमा कार्यान्वयन गरे-नगरेको विषयलाई हेरिने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै, स्थानीय तहले उठाएको राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकमसहितको कुल राजस्व रकमबाट आफ्नो सम्पूर्ण प्रशासनिक खर्च पूरा गरी बाँकी रकम विकास निर्माण कार्यमा उपयोग गर्ने विषयलाई पनि सूचकका रुपमा राखिएको छ ।

कार्यविधिमा सार्वजनिक स्रोत, साधन, शक्ति र अधिकारलाई निजी फाइदाका लागि उपयोग हुने विषयलाई वित्तीय अनुशासनको जोखिम जनाउने सूचकका रुपमा राखिएको छ । यस्ता सूचक ३४ वटा छन् ।

स्थानीय तहले राजस्व परिचालन र खर्च गर्दा गाउँसभा वा नगरसभाबाट पारित आर्थिक ऐन विनियोजन ऐन तथा वार्षिक बजेट तथा कार्यक्रमको सीमाभित्र रही खर्च गर्नुपर्नेछ । त्यस्तै, वित्तीय समानीकरण अनुदानको रकम प्रशासनिक खर्चमा उपयोग नभएको विषयलाई पनि सूचकका रुपमा राखिएको छ ।

यसरी वित्तीय जोखिम मूल्यांकनका १ सयवटा सूचक छन भने प्रतिसूचक १ अंकभार तोकिएको छ । छ वा छैनका आधारमा ०.५ देखि १ अंकसम्म दिइने कार्यविधिमा उल्लेख छ ।


क्लिकमान्डु