निषेधाज्ञा खुकुलो भएसँगै तरकारीको मूल्य दोब्बरले बढ्यो



स्रोतः कालिमाटी तरकारी बजार (खुद्रा मूल्य), यो निषेधाज्ञा खुकुलो भएपछिको मूल्य हो ।

काठमाडौं । सरकारले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेसँगै बजारमा तरकारीको मूल्य क्रमशः बढ्दै गएको छ ।

सरकारले गत बैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञाले आपूर्तिसँगै माग कम भएपछि सस्तो भएको मूल्य अहिले निषेधाज्ञा खुकुलो बनाएसँगै तरकारीको मूल्य निरन्तर बढ्दै गएको हो ।

सरकारले गत असार ८ गतेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । साथै, बारअनुसार व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । सोही अनुसार बजारमा चहलपहल शुरु भएको देखिन्छ ।

त्यस्तै गत ७ गते बजार खुकुलो गर्ने निर्णय गरेसँगै बजारमा तरकारीको भाउ निरन्तर उकालो लागेर आजको दिनमा आइपुग्दा करिब तरकारीको मूल्य ५० प्रतिशतले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार निषेधाज्ञा खुकुलो हुनु अगाडिको मूल्य र निषेधाज्ञा भएको तुलनामा ५० प्रतिशतले तरकारीको मूल्य बढेको तथ्याङ्कले देखाउँदछ ।

जसमा गत असार ५ गते ठूलो गोलभेडा (भारतीय) को औसत मूल्य प्रतिकेजी ३५ थियो भने सो मूल्य निरन्तर उकालो लागेर आजको मूल्य समितिले नै औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकेको छ । त्यस्तै, सानो गोलभेडा (लोकल)को २५ रहेकोमा अहिले औसत मूल्य प्रतिकेजी २७ भएको छ भने सानो गोलभेडा (टनेल)को मूल्य भने घटेको छ ।

त्यस्तै, सबैभन्दा भान्सामा प्रयोग हुने आलुको मूल्य पनि बढ्दै गएको देखिन्छ । जसमा निषेधाज्ञा खुकुलो हुनुअघि प्रतिकेजी रातो आलुको ४६, रातो आलु (भारतीय) को २९ र रातो आलु (मुडे)को ४६ रुपैयाँ रहेकोमा सो मूल्य अहिले क्रमशः ४८, २९ र ४३ रुपैयाँ तोकेको छ । तर, खुद्रा बजारमा भने प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

त्यसैगरी घिउ सिमीको मूल्य पनि निकै बढेको छ । निषेधाज्ञा अघि समितिले प्रतिकेजी ६५ रुपैयाँ तोकेको घिउ सिमी अहिले बढेर ९५ रुपैयाँ तोकेको समितिले जनाएको छ ।

साथै निषेधाज्ञाअघि बन्दको मूल्य ३०, काउलीको मूल्य ७०, मूलाको १४, लाम्चो भन्टा ३०, डल्लो भन्टा ४५, बोडी ६६, टाटे सिमी १४५ रुपैयाँ, लौका ४५, तिते केरेला ४५, पालुङ्गो र चमसुरको ९५, रायो साग ३८, पाकेको फर्सी ३२, हरियो फर्सी ३५, भिण्डी ५५ रुपैयाँ समितिले मूल्य तोकेको थियो ।

उक्त तरकारीहरूको मूल्य अहिले बढेको समितिले जनाएको छ । निषेधाज्ञा पछि निरन्तर उकालो लागेको तरकारीमाअहिले बन्दा ५५, काउली ७५, मूला १७, डल्लो भान्टा ४५, तिते करेला ६५, लौका ५५, पालुङ्गो र चमसुरको सागको मूल्य ११५ रुपैयाँ समितिले तोकेको छ ।

समितिले बजारको माग र आपूर्तिलाई हेरेर बजार मूल्य निर्धारण गरेको हुन्छ । तर, समितिले तोकेको मूल्यभन्दा दोब्बर मूल्य बढाएर तरकारीको मूल्य खुुद्रा व्यापारीहरूले बिक्री गर्दै आएको पाइन्छ ।

यस्तै, समितिका सूचना अधिकारी विनय श्रेष्ठले निषेधाज्ञा लागू भएसँगै सस्तो भएको तरकारीको मूल्य अहिले बजार हुुँदै गएपछि मूल्य बढ्न थालेको बताए । उनका अनुसार निषेधाज्ञाको समयमा आपूर्तिसँग माग घटेको थियो । त्यसैले सर्वसाधारणहरू केही राहत मिलेको थियो । तर, अहिले बजार खुकुलो भएको र अहिले वर्षाले गर्दा तरकारी उत्पादन कम हुने मौसम भएकाले तरकारीको मूल्य बढेको बताए ।

साथै, वर्षाको समयमा सीमित तरकारीहरू मात्रै उत्पादन हुने भएकाले आगामी दिनमा अझ बढ्न सक्ने उनको भनाइ छ ।

११ दिनमा ४४ सय मेट्रिक टन तरकारी आयात
देशको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटीमा ११ दिनमा मात्रै ४ हजार ४ सय ८८ मेट्रिक टन तरकारी आयात भएको छ ।

उक्त तथ्याङ्क गत असार १ गतेदेखि आजसम्मको आगमन भएको तरकारी रहेको समितिले जनाएको छ । त्यस्तै, असार १ गतेदेखि आजसम्ममा ६ सय ४४ मेट्रिक टन फलफूल, २ सय ८६ मेट्रिक टन मसला, ९० टन माछा र अन्य १४ टन कालिमाटी बजारमा भित्रिएको छ । साथै, असारबाट अहिलेसम्ममा ५ हजार ५ सय २४ टन तरकारी तथा फलफूल भित्रिएको समितिको तथ्याङ्कले देखाउँदछ ।

जसमा अहिले विगतको तुलनामा तरकारीको खपत घटेको श्रेष्ठले बताए । विगतको दिनमा दैनिक ७ सय टनको हाराहारीमा तरकारी आयात हुँदै आएकोमा अहिले ४ सय ५ सय टनमा सीमित रहेको बताए । साथै, अहिले केही खुकुलो भएकाले तरकारी आगमनमा पनि वृद्धि हुँदै गएको उनले जानकारी दिए ।


क्लिकमान्डु