५२ बैंक तथा वित्तीय संस्थाबाट ४९ हजार महिलाले लिए साढे ४६ अर्ब सहुलियत कर्जा



काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ४९ हजार बढी महिलाले बिना धितो सस्तो ब्याजदरमा कर्जा लिएका छन् ।

सरकारी ब्याज अनुदानमा यी महिलाहरुले ४६ अर्ब ४६ करोड १६ लाख रुपैयाँ बढी सहुलियत कर्जा ५२ वटा बैंक तथा वित्तीय संस्थाबाट लिएका हुन् ।

सरकारको कार्यक्रममा राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदानका सहुलियतपूर्ण कर्जा अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, दलित समुदाय व्यवसाय विकास, उच्च र प्रविधिक शिक्षा भुकम्प पिडितको निजी आवास निर्माण, कपडा उद्योग संचालन र सिटिइभिटी तालिमको लागि गरी १० शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्छ ।

सरकारको निर्देशनमा राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यविधि जारी गरेको थियो । जसमध्ये व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र कपडा उद्योग सञ्चालनबाहेक सबै कर्जा बैंक तथा वित्तीय संस्थाले बिनाधितो व्यवसायीक परियोजनाको आधारमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारी ब्याज अनुदानमा उपलब्ध हुने कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतभन्दा बढी ब्याजदर कायम गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

जसमा बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजदरमध्ये ५ प्रतिशत अनुदान ऋणीलाई सरकारको तर्फबाट हुनेछ ।

तर, महिला उद्यमी कर्जाको हकमा भने यस्तो ब्याज अनुदान ६ प्रतिशत कायम गरिएको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाबाट सरकारी ब्याज अनुदानसहित महिला उद्यमीले २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजमा कर्जा उपयोग गर्न पाउँछन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको बैशाख मसान्तसम्म साढे १ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा करिब ९६ हजार जना ऋणीमा प्रवाह गरेका छन् । यस्तो कर्जा उपयोग गर्ने ऋणीमा ३१.०२ प्रतिशत महिला छन् ।

सरकारले महिला उद्यमशील क्षमताको विकास गर्ने उदेश्यले ‘महिला उद्यमी कर्जा’ शीर्षकमा परियोजना मूल्यांकनमा १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । जसमा १८ वर्ष पूरा भएको महिलाले सहुलियतपूर्ण कर्जाका मापदण्ड पूरा गरी व्यवसायिक योजना बैंकमा पेश गरेपछि पाउँछन् ।

कुन बैंक तथा वित्तीय संस्थाबाट महिलाले कति कर्जा पाए ?
चालु आवको बैशाख मसान्तसम्म ५२ वटा बैंक तथा वित्तीय संस्था महिला उद्यमी कर्जा प्रवाह गरेको छन् ।
वैशाख मसान्तसम्म ४१ हजार ४३ महिलालार्य ३७ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा १३ वटा राष्ट्रियस्तर र क्षेत्रीयस्तरका विकास बैंक गरी १३ वटाले ७ हजार ८ सय २९ जनालाई ८ अर्ब १३ करोड ६६ लाख रुपैयाँ महिला उद्यमी कर्जा प्रवाह गरेका छन् ।

यस्तै, सो अवधिमा १० वटा फाइनान्स कम्पनीले ५ सय ७ जना महिलालाई ५६ करोड ३० लाख ८४ हजार रुपैयाँ र २ वटा माइक्रोफाइनान्स कम्पनीले ७१ जना महिलालाई ६ करोड २६ लाख १४ हजार रुपैयाँ सहुलियत कर्जा लिएका छन् ।

वाणिज्य बैंकहरुतर्फ बिनाधितो महिला उद्यमी कर्जा
वाणिज्य बैंकहरुतर्फ सञ्चालनमा रहेका सबै वाणिज्य बैंकले महिला उद्यमी कर्जा प्रवाह गरेका छन् । जसमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट बैंकले र सबैभन्दा थोरै महिलालाई स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्जा दिएका छन् ।

बैशाख मसान्तसम्म नेपाल इन्भेष्टमेण्ट बैंकले २ हजार ५ सय ७० जनालाई र स्ट्याण्र्डड चार्टर्ड बैंकले १ सय ३४ जना महिलाई कर्जा दिएको छ ।

तर सो अवधिमा कर्जा परिमाणको आधारमा सबैभन्दा बढी महिलालाई बिनाधितो कर्जा दिने वाणिज्य बैंकमा सनराइज बैंक रहेको छ । सो अवधिमा सनराइजले २ हजार ४ सय ८ जना महिलालाई २ अर्ब ६४ करोड ४९ लाख ५९ हजार रुपैयाँ कर्जा व्यवसायीक परियोजनामा विश्वास गरी बिना धितो प्रवाह गरेको हो ।

सो अवधिमा कर्जा परिमाणको आधारमा भने स्ट्याण्डर्ड चार्डर्ट बैंकले नै थोरै कर्जा प्रवाह गरेको छ । वैशाख मसान्तसम्म बैंकले १ सय ३४ जनालाई १० करोड ४१ लाख ३७ हजार रुपैयाँ व्यवसायिक परियोजनाको आधारमा कर्जा प्रवाह गरेको छ ।

साथै, चालु आवको बैशाख मसान्तसम्म कर्जा परिमाणको आधारमा दोस्रो नम्बरमा एनएमबी बैंकले र तेस्रोमा सिटिजन्स बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् ।

सो अवििधमा एनएमबि बैंकले २ हजार ४ सय ९४ जना महिलालाई २ अर्ब २४ करोड ५१ लाख ६८ हजार रुपैयाँ र सिटिजन्स बैंकले २ हजार २ सय ४६ जना महिलालाई २ अर्ब ११ करोड ४६ लाख ५४ हजार रुपैयाँ व्यवसायिक परियोजना मुल्यांकनमा सहुलियत कर्जा प्रवाह गरेका छन् ।

प्राप्त तथ्यांक अनुसार सो अवधिमा महिला उद्यमी कर्जा १९ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म र ८ वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँभन्दा कम प्रवाह गरेका छन् ।

विकास बैंकहरुतर्फ बिनाधितो महिला उद्यमी कर्जा
हाल ८ वटा राष्ट्रियस्तरका गरी १८ वटा विकास बैंकहरु सञ्चालनमा छन् । चालु आवको बैशाख मसान्तसम्म विकास बैंकतर्फ ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले र ५ वटा क्षेत्रियस्तरका विकास बैंक गरी १३ वटा बैंकहरुले बिनाधितो महिलालाई सुहलियत कर्जा प्रवाह गरेका छन् ।

यी विकास बैंकहरुले बैशाख मसान्तसम्म ७ हजार ८ सय २९ जना महिलाई ८ अर्ब १३ करोड ६६ लाख ६४ हजार रुपैयाँ व्यवसायिक परियोजना मूल्यांकनमा कर्जा प्रवाह गरेका हुन् ।

जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले र सबैभन्दा थोरै सालपा विकास बैंकले महिलालाई बिनाधितो कर्जा दिएका छन् । सो अवधिमा मुक्तिनाथ विकास बैंकले १ हजार ७ सय १५ जना महिलालाई १ अर्ब करोड ५७ लाख ४६ हजार रुपैयाँ र सबैभन्दा थोरै सालपा विकास बैंकले १३ जना महिलालाई १ करोड २३ लाख ७० हजार रुपैयाँ बिनाधितो व्यवसायिक परियोजना मूल्यांकनमा कर्जा दिएका हुन् ।

तर सो अवधिमा कर्जा परिमाणको आधारमा भने महिलालाई सहुलियत कर्जा सबैभन्दा धेरै गरिमा विकास बैंकले दिएको छ । बैंकले चालु आवको मंसिर मसान्तसम्म १ हजार ३ सय ६८ जना महिलालाई १ अर्ब ७१ करोड १७ लाख २ हजार रुपैयाँ बिना धितो ब्याज अनुदानमा कर्जा प्रवाह गरेको हो ।

फाइनान्स तथा माइक्रोफाइनान्सतर्फ बिनाधितो महिला उद्यमी कर्जा
राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार चालु आवको बैशाख मसान्तसम्म १० वटा फाइनान्स कम्पनी र २ वटा माइक्रोफाइनान्स कम्पनीले बिना धितो महिलालाई व्यवसायिक परियोजना मुल्यांकनमा कर्जा प्रवाह गरेका छन् ।

जसमा सबैभन्दा बढी पोखरा फाइनान्सले २ सय ३६ जना महिलाई २६ करोड ४८ लाख २५ हजार रुपैयाँ र सबैभन्दा थोरै रिलायन्स फाइनान्सले २ जना महिलाई १७ लाख रुपैयाँ बिना धितो व्यवसायिक परियोजना मुल्यांकनमा सहुलियत कर्जा प्रवाह गरेका हुन् ।

साथै, सो अवधिमा इन्फिटी लघुवित्त वित्तीय संस्थाले ६८ जना महिलालाई ५ करोड ९६ लाख ३१ हजार रुपैयाँ र मेरो माइक्रोफाइनान्सले ३ जना महिलालाई २९ लाख ८२ हजार रुपैयाँ बिनाधितो व्यवसायिक परियोजना मूल्यांकन गरी कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु