मौद्रिक नीति निर्माण सुझाव माग्दै राष्ट्र बैंक, साउन पहिलो सातामा सार्वजनिक गरिने तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । बैंकले बिहीबार सूचना जारी गरि मौद्रिक नीतिमा राय/सुझाव दिन आग्रह गरेको हो ।

राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ । यस पटकको बजेटले राष्ट्र बैंकमार्फत् कार्यान्यवन गराइने धेरै बैंकिङ कार्यक्रम घोषणा गरेको छ । जसलाई समेत समेट्दै कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरलाई पुनरत्थान गर्ने मौद्रिक नीति निर्माणको तयारी गरिएको राष्ट्र बैंक राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए ।

‘विभागिय सुझावको लागि पत्र पठाइसेका छौँ, आवश्यक छलफल समेत भइरहेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘साउनको पहिलो साता भित्रै नयाँ मौद्रिक नीीत सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’

मौद्रिक नीतिको खाका राष्ट्र बैंकको अनुसन्धान विभागले अन्य सबै विभागहरुसँग छलफल तथा समन्य गरी तयार पार्छ । अहिले विभागिय छलफल तथा सुझाव संकलन कार्य सकिएको हुँदा अन्य सरोकारवाला निकायसँग छलफल शुरु भएको उनले जानकारी दिए ।

अहिले अन्य वर्षहरुमा भन्दा अबको नयाँ मौद्रिक नीति चुनौतीपुर्ण रहेको हुँदा सबै क्षेत्रका सरोकारवाला व्यक्ति निकायहरुको सुझाव तथा छलफल गरी मौद्रिक नीति सार्वजनिक गरिने उनको भनाइ छ ।


पुष्प दुलाल