यी हुन नेपालबाट निर्यात हुने मुख्य वस्तु, भारतपछि सबैभन्दा बढी युरोपमा निर्यात



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ खर्ब बढी मूल्य बराबरको वस्तु तथा सेवा निर्यात गरिसकेको छ ।

कोरोना भाइरस महामारीले गर्दा मन्द गतिमा सञ्चालनमा रहेका उद्योगले १० महिनाको अवधिमा १ खर्ब मूल्य बराबरको निर्यात गरेकोमा व्यवसायीहरूले सकारात्मक रहेको जनाएका छन् ।

यस्तै नेपालबाट निर्यात भएको अधिकांश वस्तु तथा सेवा अन्य देशबाट उल्लेख्य रुपमा आयात गरी निर्यात गरेको पाइन्छ । यसले गर्दा नेपालबाट उत्पादित वस्तु तथा सेवाको अवस्था भने निकै कमजोर रहेको छ ।

नेपालले चालु आवको १० महिनाको अवधिमा सबैैभन्दा भटमासको तेल आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । भट्मासको तेलको उच्च आयातसँगै निर्यात पनि उच्च रहेको छ ।

चालु आवको १० महिनाको अवधिमा नेपालले ३५ अर्ब ७५ करोड ३४ लाख मूल्य बराबरको भट्मासको तेल निर्यात गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मुख्य २० निर्यातित वस्तु तथा सेवाको ३३ प्रतिशत भटमासको तेलले मात्रै ओगटेको देखाउँदछ ।
यस्तै नेपालबाट मुख्य निर्यात हुँदै आएकोमा दोस्रोमा ऊनीको कार्पेट रहेको छ । १० महिनाको अवधिमा नेपालले ५ अर्ब ९८ करोड रुपैयाँको ऊनीको कार्पेट निर्यात गरेको छ । साथै, नेपालमा उत्पादित प्रमुख वस्तु अलैंची चालु आवको १० महिनाको अवधिमा ५ अर्ब ९१ करोड ८७ लाखको निर्यात भएको छ । नेपालको किसानबाट उत्पादनमध्ये सबैभन्दा बढी निर्यात हुने अलैंची रहेको छ ।

त्यसैगरी, बैशाख मसान्तसम्ममा ५ अर्ब ६८ करोड ९० लाखको धागो, ५ अर्ब ५९ करोड ४१ लखको जुटको सामान, ३ अर्ब ३५ करोड ७४ लाखको जुस, २ अर्ब ९६ करोड ३९ लाखको तयारी पोसाक, २ अर्ब ४३ करोड ८२ लाखको कपडा, २ अर्ब १५ करोड २७ लाख रुपैयाँको पस्मिना निर्यात गरेको छ ।

नेपालबाट प्रमुख निर्यात हुने वस्तु तथा सेवामा ओयल केक रहेको छ । उक्त खाद्यान्न १ अबए ८२ करोडको निर्यात भएको छ । यस्तै नेपालबाट १ अर्ब ४१ करोड ६५ लाखको जडीबुडी, १ अर्ब १८ करोड ५८ लाखको आयुर्वेदिक औषधी, १ अर्ब ७ करोड ६ लाखको नुडल्स, ९७ करोडको रोजिन, ७८ करोड २९ लाखको तुत पेस्ट, ७१ करोडको जुत्ता र चप्पल, ६३ करोड ६१ लाखको गरहगहना, ५९ करोड १८ लाखको जिन्क सिट, ३९ करोड २७ लाखको हस्तकला र हस्कलाको अन्य वस्तु र ८९ करोड ४१ लाखकोे दाल निर्यात भएको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गरेको छ ।

कुन देशमा कुन वस्तु बढी निर्यात ?
नेपालबाट विश्वका १ सय ५० भन्दा बढी देशहरूमा वस्तु तथा सेवा निर्यात हुने गर्दछ । विश्वका सो देशहरूमा वस्तु तथा सेवा निर्यात भए पनि नेपालबाट उल्लेखनीय रुपमा निर्यात हुनेको संख्या ४० वटाभन्दा कम देश रहेको छ । सो देशहरूमा नेपालबाट उत्पादन गरी निर्यात गर्दै आएका छन् ।

भारतः नेपालको आयात तथा निर्यातमा ठूलो भूमिका रहेको देश भारतमा चालु आवको वैशाख मसान्तसम्ममा ७९ अर्ब ३२ करोड ७४ लाख बराबरको वस्तु निर्यात गरेको छ । उक्त रकम बराबरको वस्तु तथा सेवा निर्यात भएको भट्मासको तेल, ब्रान्स, अलैंची, क्याटलफिड, दालचीनी, तामाको तार डन्डा, अदुवा, हस्तकला, जडीबुडी, जुस, जुटको सामान, पस्मिना, धागो, नुडल्स, तयारी पोसकलगायत अन्य वस्तु तथा सेवा निर्यात हुने गर्दछ ।

अमेरिकाः भारतपछि नेपालबाट निर्यात हुने अर्को देश होे अमेरिका । अमेरिकामा चालु आवको वैशाख मसान्तसम्ममा ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । उक्त देशमा नेपालबाट सबैभन्दा बढी कार्पेट निर्यात भएको छ । १० महिनाको अवधिमा सो देशमा ३ अर्ब २२ करोड ६१ लाखको कार्पेट निर्यात भएको छ । त्यस्तै, नेपालबाट फेल्ट, तयारी पोसाक, ऊनीको कपडा, गरहगहना, कपासको कपडा, चिउरा, पस्मिना, हस्तकलाजस्ता सामग्री निर्यात भएको छ ।

जर्मनीः जर्मनीमा पनि नेपालबाट उल्लेख्य रुपमा वस्तु तथा सेवा निर्यात हुँदै आएको छ । चालु आवको १० महिनाको अवधिमा २ अर्ब ७२ करोड १८ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । जसमा जर्मनीतर्फ कार्पेट, सल, मफलर, फेल्ट, तयारी पोसक, ग्रीन टी, कालो चिया, हस्तकला, कपडा, कफी, कटन ब्याग, अगरबत्तिजस्ता वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

बेलायतः बेलाततर्फ नेपालले चालु आवमा २ अर्ब ७ करोड ८६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा सबैभन्दा बढी कार्पेट, हस्तकला, पस्मिना, फेल्ट, उनीबाट बनेको कपडा, चिउरा, ब्यागहरू तथा तयारी पोसाक निर्यात भएको छ ।

टर्कीः नेपालबाट टर्कीतर्फ १ अर्ब १७ करोड ७३ लाखको वस्तु तथा सेवा निर्यात हुँदा सबैभन्दा बढी धागो निर्यात भएको छ । ऊक्त देशमा १० महिनाको अवधिमा धागोलगायत अन्य धागो गरी १ अर्ब १ करोड २७ लाख बराबरको निर्यात भएको छ भने बाँकी १६ करोडको अन्य वस्तु तथा सेवा निर्यात भएको छ । साथै अन्य सिलाउने धागो, कार्पेट, ऊनीको कपडा, पस्मिना, हस्तकला जस्ता वस्तु तथा सेवा निर्यात भएको छ ।

फ्रान्सः फ्रान्सतर्फ १ अर्ब १२ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात हुँदा सबैभन्दा बढी फेल्ट निर्यात भएको छ । साथै, अन्यमा कपडा, पस्मिनालगायत अन्य वस्तु तथा सेवा निर्यात भएको छ ।

चीनः नेपालको आयात निर्यातमा चीनको ठूलो हिस्सा रहे पनि कोरोनाले भने निर्यातमा निकै कमजोर बनेको छ । जसमा चालु आवको वैशाख मसान्तसम्ममा चीनतर्फ नेपालबाट ८९ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । जसमा सबैभन्दा बढी अगबत्ति हस्तकला, नुडल्स, अन्य हस्तकलाको सामाग्री, पस्मिना, तयारी कपडा, तयारी छालाको उत्पादन, चिया, ऊनीको कार्पेटजस्ता वस्तु तथा सेवा निर्यात भएको छ ।


क्लिकमान्डु