घरजग्गालाई यसरी जोड्न सकिन्छ सेयर बजारमाः नरेन्द्र सिजापतिको लेख
धितोपत्रको कारोबार ११औँ शताब्दीमा फ्रान्सबाट शुरु भएको पाइन्छ । १३औँ शताब्दीतिर कृषिजन्य ऋणपत्रको कारोबार हुँदै १७औं शताब्दीदेखि पहिलोपटक लाभांश वितरण गर्ने गरी धितोपत्र जारी गरेको पाइन्छ ।
सन् १८०१ मा लन्डन स्टक एक्सचेञ्ज स्थापना भई धितोपत्र दलाल व्यवसायीहरुलाई सदस्यता दिने तथा नियमन गर्ने व्यवस्थाको शुरुवात गरेको देखिन्छ ।
वर्तमान समयमा प्रविधिमा भएको विकासको कारण पुँजी बजारको बिस्तार यसरी भएको छ कि मानौं हरेक मानिसको हत्केलामा संसारका सबै सूचनाहरु सङ्कलित छन् । प्रकाशित र प्रसारण भइरहेका छन् ।
मोबाइल प्रविधिको विकाससँगै पुँजीबजारमा मानिसहरूको सहभागिता निकै लोभलाग्दो र आकर्षक भइरहेको छ । पुँजी बजारमा वित्तीय उपकरणहरूको खरिद-बिक्री हुन्छ ।
नेपालको पुँजीबजारमा बैंक वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी, होटल, व्यापार कम्पनी, दूरसञ्चार कम्पनी, सिमेन्ट उत्पादन कम्पनी, मदिरा उत्पादन कम्पनीका सेयरहरु तथा परिवर्तनीय अग्राधिकार सेयरहरु सरकारी ऋणपत्र बैंक वित्तीय संस्थाले जारी गरेका ऋणपत्रहरु, बन्दमुखी र खुल्लामुखी सामूहिक लगानी कोषका इकाइहरू सूचीकृत भई कारोबार भइरहेका छन् ।
यसका अतिरिक्त नेपाल सरकारले हालैका वर्षहरुमा नीतिगत व्यवस्था गरेपश्चात् प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल कोही स्थापना र सञ्चालन हुन थालेका छन् ।
पुँजीबजारको महत्वः
पुँजी बजारलाई देशको आर्थिक स्रोतको खोजी तथा संकलन गर्ने बलियो माध्यम बनाउनुपर्दछ । पुँजीबजारलाई देशमा उद्यमी व्यवसायीहरु जन्माउने रोजगारी सिर्जना गर्ने तथा देश विकासका लागि योगदान गर्ने सशक्त क्षेत्र बनाइनु पर्दछ ।
पुँजी बजारले अर्थतन्त्रमा अपेक्षा गरिएअनुसारको योगदान गर्न नसकेको मात्र होइन बजार स्वयमको पनि अपेक्षाअनुसार विकास हुन सकेको छैन । पुँजी बजारलाई विकास र अर्थतन्त्रसँग जोड्न नसक्नुमा मुख्यतया संरचनागत, नीतिगत र प्राविधिक समस्याहरु प्रमुख कारण हुन् ।
हालसम्म पनि नेपालको पुँजी बजारलाई साधारण सेयर खरिद बिक्रीको थलोको रूपमा सीमित गरिएको छ । साधारण सेयरमा गरिने लगानी तुलनात्मकरुपमा अन्य लगानीभन्दा जोखिमयुक्त हुन्छ । पुँजी बजारलाई दीर्घकालीन पुँजी निर्माणको माध्यम बनाइनु पर्दछ ।
पुँजीबजार एक खुला मैदानजस्तै हुनुपर्छ । जहाँ निर्वाधरूपमा आवतजावत गर्न सकियोस् । नियमहरु तटस्थ हुन् । र, सबैका लागि समानरुपले लागू गर्न सकियोस् ।
व्यवहारहरू विभेदरहित होओस् । सूचनामा सबैको पहुँच समान होओस् । गतिविधिहरु पारदर्शी होओस् । शंकाको वातावरण नहोस् । सरोकारबाला सबैको विश्वसनीयताको आधार बनोस् पुँजी बजार । साना र नयाँ लगानीकर्ताहरूको हित संरक्षण गर्न सकियोस् ।
बजारमाथि विश्वसनीयता कायम राखीरहन तुलनात्मकरुपमा कम जोखिमयुक्त वित्तीय उपकरणहरूमा लगानीको अवसर उपलब्ध गराउन अनिवार्य भइसकेको छ । पूर्वाधार तथा रियलस्टेटसँग सम्बन्धित सामूहिक लगानी कोषहरुको स्थापना इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट ट्रस्ट र रियल स्टेट इन्भेस्टमेन्ट ट्रस्ट एक प्रकारको म्यूचुअल फन्ड हो ।
छुट्टै नियमहरु बनाई यस्ता किसिमका ट्रस्टहरू सञ्चालन गर्न सकिन्छ । कम्पनीहरु, संस्थाहरु र व्यक्तिगत लगानीकर्ताबाट यस्ता किसिमका ट्रस्टहरूमा लगानी गरिन्छ । रियल स्टेट इन्भेस्टमेन्ट ट्रस्टले होटलहरु, कार्यालय भवनहरू व्यापारिक मलहरु, आईटी पार्क, फनपार्क, हाउजिङ, घरजग्गामा लगानी गर्छ ।
यस्ता भौतिक सम्पत्तिहरु खरिदबिक्री गर्छ तथा भाडामा लगाई आय आर्जन गर्छ । त्यस्तै गरी इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताहरु कम्पनीहरु, संस्थाहरु र सर्वसाधारण लगानीकर्ताहरु नै हुन्छन् । सडक, हाइड्रो, प्रविधि, ऊर्जा जस्ता ठूला आयोजामा लगानी गरी आय आर्जन गर्ने गरिन्छ ।
यस्ता किसिमका कम्पनीबाट पूर्वाधारसम्बन्धी परियोजना निर्माणका लागि पुँजीको उपलब्धता बढ्ने साथै सानासाना बचतकर्ताले पनि आफ्नो बचतको माध्यमबाट प्रत्यक्षरुपमा रियल स्टेटमा लगानी नगरिकनै लाभ लिन सक्छन् ।
घरजग्गा कारोबारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि यस्ता किसिमका वित्तीय उपकरणहरूको शुरुवात गर्न जरुरी छ । प्रतिइकाइ २५ हजार रुपैयाँका दरले यस्ता किसिमका ट्रस्टहरुबाट आइपीओ निष्काशन गर्ने र धितोपत्रको दोस्रो बजारमा सूचीकृत गरी कारोबार गरिएको खण्डमा म्यूचुअल फन्ड जस्तै लो इन्ट्री प्वाइन्टमार्फत् धेरैको सहभागिता र उच्च तरलता प्रदान गर्न सकिन्छ ।
लगानीमा विविधिकरण हुने भएको कारण यस्ता इकाइहरुको दोस्रो बजारमा उतारचढाव कम हुने गर्दछ । दक्ष व्यवस्थापनद्वारा सञ्चालित यस्ता ट्रष्टहरुमा पार्दशिता हुने गर्दछ ।
यस्ता किसिमका ट्रष्टहरु अन्तर्गत स्पोन्सर, इन्भेष्टमेन्ट र प्रोजेक्ट म्यानेजर हुन्छन् । स्पोन्सरले ट्रष्ट स्थापना गर्ने र ट्रस्टीको नियुक्ति गर्ने गर्दछ । त्यसैगरी इन्भेष्टमेन्ट म्यानेजर प्रोजेक्ट म्यानेजरले दैनिक कार्यहरु सञ्चालन गर्ने गर्दछ ।
यस्ता ट्रस्टहरूले वार्षिक दुईपटक लाभांश वितरण गर्ने गर्दछन् । आम्दानी पुनः लगानी गर्न नपरेको खण्डमा ९० प्रतिशतसम्म लाभांसको रुपमा वितरण गरिन्छ । भारतमा यस्ता किसिमका ट्रस्टहरू ११ वटा छन् र लगानीको दृष्टिकोणले तुलनात्मक रुपमा कम जोखिम भएका छन् । भारतमा यिनीहरूले क्रेडिट रेटिङ एएए पाएका छन् ।