सब ब्रोकर तथा आधिकारिक प्रतिनिधि दिन ब्रोकरको माग, पूँजी समेत बढाउन तयार



काठमाडौं । स्टक ब्रोकरले सेयर बजार विस्तारको लागि सब ब्रोकर तथा एजेन्ट वा आधिकारिक प्रतिनिधि दिन माग गरेका छन् ।

स्टक ब्रोकर एशोसियनले बजेटमा दिएको सुझावमा धितोपत्रको दोस्रो बजारको विस्तारको लागि धितोपत्र दलाल ब्यवसायीहरुले एजेन्ट,सब ब्रोकर वा आधिकारीक प्रतिनिधी मार्फत ब्यावसाय बिस्तार गर्न पाउने गरी कानूनी ब्यवस्था मिलाउन माग गरेको छ ।

धितोपत्र बोर्डले गर्न सक्ने व्यवस्थालाई नीतिगत सम्बोधन गर्नको लागि एशोसियनले बजेट मार्फत सब ब्रोकर तथा आधिकारिक प्रतिनिधि दिन माग गरेको हो ।

अहिले सेयर बजारमा हुने करिब ८५ प्रतिशत कारोबार अनलाइन मार्फत हुने गरेको छ । पछिल्लो एकवर्षमा डिम्याट खाता खोल्नेको संख्या नै ३० लाखभन्दा माथि गइसकेको छ । साधारण सेयर निष्कासनमा १८ लाखसम्मको आवेदन पर्न थालेको छ ।

आइपीओमा देखिएको चासोसँगै नयाँ लगानीकर्ताको चासो दोस्रो बजारमा समेत देखिएको छ । स्टक ब्रोकर एशोसियनका पूर्व अध्यक्ष भरत रानाभाट सब ब्रोकरको लाइसेन्स दिने व्यवस्था भएमा ब्रोकरहरु पूँजी थप्न तयार रहेको बताउँछन् ।

‘बजारको विस्तार गर्नको लागि सब ब्रोकर,एजेन्ट वा आधिकारिक प्रतिनिधिको व्यवस्था गर्नुपर्छ,त्यो व्यवस्था गर्ने हो भने पूँजी थप्नु ठूलो कुरा होइन,’रानाभाटले क्लिकमाण्डूसँग भने ।

अहिले धितोपत्र बोर्डले ब्रोकर कम्पनीको चुक्ता पूँजी न्यूनतम २ करोड हुने व्यवस्था गरेको छ । ब्रोकर कम्पनीले काठमाडौं उपत्यका बाहिर शाखा खोल्न चाहेमा पूँजी थप्नुपर्छ । अहिले काठमाडौं उपत्यका बाहिर मुख्य सहरमा ब्रोकर कम्पनीका शाखा कार्यालय छन् । कानूनी रुपमा ब्रोकर कम्पनीको शाखाको रुपमा चलेपनि अनौपचारिक रुपमा भने काठमाडौं उपत्यका बाहिरका शाखाहरु सहायक ब्रोकरको रुपमा चलेका छन् ।

सेयर बजारका लगानीकर्ताका संगठनहरु भने बजार विस्तारको लागि बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने माग राख्दै आएका छन् । बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिने विषयमा नीतिगत व्यवस्था भएपनि धितोपत्र बोर्डले भने बैंकलाई ब्रोकरको लाइसेन्स नदिने निर्णय गरेको छ ।

धितोपत्र बोर्डमा भिष्मराज ढुंगाना अध्यक्ष बनेर आएपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा भने बन्द भइसकेको छ ।

विदेशमा भने सब ब्रोकर तथा ब्रोकरको पनि ऐजेन्टको व्यवस्था हुन्छ । भारतमा पनि ठूला सेयर ब्रोकर कम्पनीले सब ब्रोकरको दिएर काम गर्ने गर्छन् ।


क्लिकमान्डु