साउदी अरब जान नेपाली नागरिकलाई प्रतिबन्ध, भारतीय नागरिकलाई छुट !



काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस महामारीले धेरै जसो श्रम गन्तव्य मुलुकले विदेशी नागरिकलाई आगमनमा निषेध गरेको छ ।

हाल नेपालीहरूको श्रम गन्तव्य बनेको विभिन्न मुलुकले विदेशी नागरिकको आगमनमा निषेध गरेको बेला नेपाली युवाहरूको प्रमुख गन्तय बनेको साउदी अरेबियाले भने अन्तर्राष्ट्रिय पुनः उडान शुरु गरेको छ ।

साउदी अरेबियाले आइतबारबाट विदेशीलाई प्रवेश गर्ने अनुमति दिने निर्णय गरेको छ । उक्त देशले नेपालबाहेक भारतलगायत अन्य कोरोना प्रभावित २० वटा देशलाई प्रतिबन्ध गरेको हो ।

साउदी अरेबियाले हालसम्म नेपाललाई भने ग्रीन जोनमा राखेको छ । साउदी अरेबियाले नेपाललाई प्रवेशमा कुनै रोक नलगाएकाले कोभिड–१९ ले गर्दा बेरोजगार भएका नेपाली श्रमिकलाई राहतको रुपमा लिन सकिन्छ ।

साउदी अरेबियाले आफ्नो अन्तर्राष्ट्रिय उडानलाई अनुमति दिनु उत्साजनक हो । तर, नेपाल सरकारले यस अवसरलाई कसरी उपयोग गर्ने सकिन्छ भन्ने कुनै विषयमा छलफल नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नेपालले भने सबै खालको अन्तर्राष्ट्रिय उडान बन्द गर्दा साउदी अरेबियामा जान तयार भएका १० हजार नेपाली अड्किएको बताए । साथै, साउदी अरेबियाबाट कामदारहरूको माग प्रमाणीकरण आएता सरकारले लागू गरेको निषेधाज्ञाले प्रभावित बनाएको उनको भनाइ छ ।

एकातिर दोस्रो कोरोनाले प्रभावित भएको छ भने अर्कोतर्फ नेपालले विदशेमा प्रतिबन्ध गरेर रोजगारी गुमाइरहेको उनको बुझाइ छ ।

महासचिव श्रेष्ठका अनुसार दोस्रो लहरको कारोना भाइरस महामारीका कारण सबै देशमा जान तयार करिब २५ हजार श्रमिक प्रभावित भएकोे बताए ।

‘गत वर्षको महामारीका कारण पनि धेरै श्रमिक प्रभावित भएको थियो । यो वर्ष पनि निकै प्रभावित भई रोजगारी गुम्नुका साथै आगामी दिनमा रोजगारीको समस्या सिर्जना हुनेछ,’ उनले भने ।

भारतीय नागरिकलाई नेपालबाट १० उडान
नेपाल सरकारले सबै मुलुकको उडानमा प्रतिबन्ध गरेको छ । तर, नेपालले भने रोजगारीको लागि साउदी अरब जान लागेको भारतीय नागरिकलाई उडान भरिरहेको छ ।

भारतीय दुतावासको पहलमा भारतीय नागरिकहरुलाई साउदी जान दिन १० उडान गर्ने निर्णय भएसँगै वैदेशिक रोजगार व्यवसायी महासंघले आपत्ति जनाएको छ । नागरिक उड्डयान प्राधिकरणले भारतीय नागरिकको लागि १० उडान भर्ने निर्णय गरेसँगै व्यवसायीहरूले विरोध जनाएको हो ।

‘भारतीय नागरिकलाई सरकारले साउदी अरेबियाको लागि उडान भर्ने भएको छ,’ महसचिव श्रेष्ठले भने, ‘१० हजारभन्दा बढी जान तयार नागरिकलाई कुनै उडान भरेको छैन । तर, नेपाल सरकारले भने भारतीय नागरिकलाई प्राथमिकतामा राखेर उडान भरिरहेका छन् । यसले गर्दा नेपाली श्रमिकप्रति गरेको व्यवहार निन्दनीय छ ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार निषेधाज्ञाको कारण काठमाडौँमा लामो समयदेखि रोकिएका भारतीय नागरिकहरुले उडान भर्ने जनाएको छ । भारतीय दूतावासले उडानको लागि सहमति भएसंगै नेपाल एयरलाइन्सको ७ उडान र हिमालय एयरलाइन्सको ३ उडान मार्फत साउदी पठाउन दिइएको छ ।

सरकारले उक्त १० वटा उडान भर्नको लागि भारतीय नागरिक कति छन् भन्ने यकिन तथ्याङ्क सार्वजनिक नगरेकोले संघले विरोध जनाएको श्रेष्ठको भनाइ छ । यसले गर्दा एयरलाइन्सको मिलेमतोमा नेपालीलाई प्रतिबन्ध गरेर भारतीय नागरिकलाई पठाउने गरेको उनले दाबी गरे ।

‘भारतीय नागरिकको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्दा नेपाली नागरिकलाई हप्तामा दुई वटा उडान गर्न किन हुँदैन,’ उनले प्रश्न गरे । नेपाली नागरिक पनि साउदी अरेबिया जानको लागि करिब लामो समयदेखि होटलको बास गरिरहेको जनाउँदै तयारी अवस्थामा रहेको श्रमिककलाई पठाउनुपर्ने उनले जिकिर गरे ।

भारतीय नागरिकलाई उडान भर्दा आगामी दिनमा नेपाललाई समस्या आउने
हाल भारतीय नागरिकलाई नेपालबाट उडान भर्दा आगामी दिनमा नेपाली श्रमिकलाई असर पर्ने अधिकांश व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूका अनुसार हाल तीव्र रुपमा कोरोना बढीरहेको अवस्था यदि कुनै भारतीय नागरिकलाई साउदी अरबमा पुगेर पोजेटिभ देखियो भने नेपालप्रति प्रश्न खडा हुने जनाएको छ । साथै,कोरोना बढ्दै गएको अवस्थामा भारतीय नागरिकले गर्दा नेपाललाई पनि रेड जोनमा राख्न सक्ने समस्या उत्पन्न भएको छ ।

‘साउदी सरकारले हालसम्म नेपाललाई ग्रीन जोनमा राखेको अवस्था छ । यसले गर्दा नेपाली श्रमिकलाई स्वास्थ्य प्रोटोकल अपनाएर साउदी अरब पठाउन सक्ने अवस्थामा छौं,’ श्रेष्ठले क्लिकमान्डूसँग भने, ‘भारतीय नागरिकलाई स्वास्थ्य प्रोटोकल अपनाएर विदेश पठाउन सक्ने तर नेपालीलाई नसक्ने ?’ यसले गर्दा नेपालबाट जति पनि उडान भरिरहेका छन् । आगामी दिन यदि केही तलमाथि भएको अवस्थामा सोझै नेपाललाई प्रश्न आउने हुँदा यसप्रति सरकारले ध्यानाकर्षण गर्नुपर्ने उनले उल्लेख गरे ।

यस्तै, सरकारले भारतीय नागरिकलाई भारतबाट ट्रान्जिक्ट बनाएर साउदी जान लागेकाले सिमित व्यक्तिलाई पोसाउन खोजेको उनको भनाइ छ । साथै, विदेशमा भिसा सकिएका हजारौं नेपाली होटलमा मोटो रकम तिरेर बस्नुपर्ने बाध्यता रहेकाले भारतीय नागरिक बोकेर साउदी गएका एयरलाइन्समा नेपाली नागरिक फर्काउनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु