लकडाउन हटेपछि उद्योग तथा निजी क्षेत्रमा काम गर्नेको तलब बढ्यो



काठमाडौं । कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन खुकुलो बनाएपछि तलब तथा ज्याला बढेको देखिएको छ ।

गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको औसत तलब-ज्याला खर्च वृद्धि भएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन अनुसार कोरोना भाइरस नियन्त्रणमा लिन लकडाउन हटाएपछि तलब भत्ता बढेको देखिएको हो । यद्यपी यो अनुसन्धान भने देशका विभिन्न जिल्लामा दोस्रो लहलर फैलन अगाडि लागु गरिएको निषेधाज्ञा अगाडिको हो ।

गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब/ज्याला खर्चमा वृद्धि भएको पाइएको प्रतिवेदनमा उल्लेख छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको देखिएको छ ।

२०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब/ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।

गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएतापनि कोभिड महामारी अगाडिको अवस्थामा भने अझै पुग्न सकेको छैन ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ बैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।

मझौला तथा ठूला उद्योग/व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग/व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेको कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान राष्ट्र बैंकको छ ।

गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन÷कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनु अगाडिको अवस्था पुगिसकेका छैनन ।


क्लिकमान्डु