आयात बढेपछि शोधानान्तर बचत घट्न थाल्यो, चैत मसान्तसम्म ४२ अर्बले बचतमा



। आयात बढ्न थालेसँगै शोधानान्तर बचत घट्न थालेको छ । चैत मसान्तसम्म आयात अघिल्लो वर्षको तुलनामा बढ्न थालेपछि चालु आर्थिक वर्षको सुरुदेखि उच्च रकमको बचतमा रहेको शोधानान्तर बचत घट्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा ४२ अर्ब ५४ करोड रुपैयाँले शोधानान्तर बचतमा छ । फागुन मसान्तसम्म ६८ अर्ब रुपैयाँले शोधानान्तर बचतमा थियो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म चालु खाता २ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ७७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा कुल वस्तु निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्प क्रमशः २३.५ प्रतिशत र १४.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ निर्यातमा २७.३ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७७÷७८ को नौ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.५ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ


क्लिकमान्डु