चीनबाट थप १६०० थान अक्सिजन सिलिण्डर र २०० लिटर लिक्विड अक्सिजन ल्याइँदै
काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक मध्येको अक्सिजनका लागि चीन सरकारबाट प्राप्त हुने ३५ सय थान अक्सिजन सिलिण्डरमध्ये दोस्रो चरणमा १६०० थान सिलिण्डर मे १८ तारिखमा उपलब्ध हुने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिए अनुसार पहिलो चरणमा आज मंगलबार ४ सय थान सिलिण्डर आइसकेको छ भने दोस्रो चरणमा १६ सय थान सिलिण्डर आयात हुनेछ ।
चीनबाट उक्त सामान ल्याउनका लागि नेपाल वायुसेवा निगमको चार्टर्ड फ्लाइट उडान सम्बन्धमा चिनियाँ पक्षलाई प्रस्ताव गरिएको छ ।
कार्यालयका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई सहायता स्वरुप प्रदान गर्ने लिक्विड अक्सिजन यथाशीघ्र काठमाडौं ल्याउन स्थानयि चिनियाँ दूतावाससँग समन्वय गरिएको छ ।
चिनियाँ पक्षले २०० लिटर लिक्विड अक्सिनसहितिको १५० कन्टेनर तातोपानी नाकामा यथाशकय चाडो हस्तान्तरण गर्ने जानकारी दिएको छ ।