कसैले ४ डलरमा खोप ल्याउन सक्छ भने १ करोड डोज खोप किन्छौंः स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं । स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले कसैले ४ डलरमा खोप ल्याएमा १ करोड डोज खोप सरकारले खरिद गर्ने बताएका छन् ।
खोप खरिदमा भ्रष्टाचार भएको आलोचना भइरहेका बेलामा मन्त्री त्रिपाठीले सरकारले सबैभन्दा सस्तो दरमा खोप खरिद गरेको बताए ।
‘म चुनौती दिन चाहन्छु, कसैले ४ डलरमा खोप ल्याउन सक्यो भने सरकारले १ करोड डोज खरिद गर्छ,’ उनले भने ।
उनले खोप खरिदमा कसैलाई पनि एक रुपैयाँ कमिसन दिन आफू तयार नभएको बताए ।
उनले भारतबाट खोप ल्याउन नसक्नुका कारण सिरम इन्स्टिच्युटमा भएको आगलागी, भारतमा फैलिएको महामारी र भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध नै भएको दावी गरे ।
उनले खोप ल्याउनका लागि कमिसनका कारण ढिलाइ भएको भन्ने पहिलेको अभिव्यक्तिबारे भने केही बोलेनन् ।
उनले भारत सरकारले शुरुमा अनुदान दिएको १० लाख डोज खोप र चीन सरकारले अनुदानस्वरुप दिएको ८ लाख डोज खोपबाहेक सरकारले १० लाख डोज खरिद गरेर ल्याएको बताए । सिरमसँग खरिद गरिएको १० लाख डोज खोप अवस्था सामान्य भएपछि आउने उनले बताए ।
उनले खोप ल्याउनका लागि अमेरिका, रसिया र बेलायतसँग पनि कुराकानी भइरहेको बताए ।
उनका अनुसार हाल २० लाख ९१ हजारले पहिलो डोज लगाएको र ३ लाख ६८ हजारभन्दा बढीले दोस्रो चरणको डोज पनि लगाएको बताए ।
त्यसका साथै अक्सिजनको अभाव बढ्दै गएका बेलामा बिग्रिएका अक्सिनज प्लान्ट निर्माण भइ सञ्चालनमा ल्याइएको, चीनबाट २० हजारमध्ये ४ सय सिलिन्डर आइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यसका साथै लिक्विड अक्सिजनको प्रयोग बढाउन भारतबाट ल्याउनका लागि त्यहाँको सरकारसँग कुराकानी भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
साथै टेकुको अस्पताल, ट्रमा सेन्टर, भेरी र कोहलपुरको अस्पतलामा लिक्विड अक्सिजनको प्रयोग शुरु भइसकेको र टिचिङ अस्पतालमा पनि अब शुरु गर्ने तयारी भइसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ४५ वटा जिल्लामा २ सयभन्दा बढी र ३९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् । जसमध्ये ४० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा छन् ।