भारतको उत्तराखण्डमा फेरि फुट्यो हिम ताल, किन दोहोरिँदै छन् बारम्बार यस्ता घटना ?



काठमाडौं । गत माघमा भारतको उत्तराखण्डको चमोलीमा हिम ताल फुटयो । हिमताल फुट्दा ठूलो जनधनको क्षति भयो । पछिल्लो पटक शुक्रबार पनि चमोलीमा नै पुनः अर्को हिमताल फुट्यो । ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।

घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ ।

चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल फुटेर तल्लो क्षेत्रमा बाढी आएको उत्तराखण्डका मुख्यमन्त्री तीर्थसिंह रावतले पुष्टि गरेका थिए । उनले घटनामा कम्तीमा ८ व्यक्तिको मृत्यु भएको र ६ घाइतेको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उनले बताए ।

घटनापछि विभिन्न स्थान फसेका करिब ४ सय व्यक्तिलाई उद्धार गरिएको पनि उहाँले बताए । हिम ताल फुटेपछि नजिकै सडक निर्माणमा खटिएका कामदारका दुई शिविरमा असर परेको थियो ।

हिमताल शुक्रबार अपरान्ह्तिर (करिब ४ बजे) फुटेको भएपनि खराब मौसमका कारण शुक्रबार बेलुका उद्धारका लागि कठिनाइ भएको भारतीय सेनाले जनाएको छ । शनिबार बिहानैदेखि उद्धारको काम भएको र अहिले पनि अरु केहीको मृत्यु भएको हुन सक्ने आशंकामा खोजी भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमताल फुटेर गएको बाढी तथा पहिरोका कारण सो क्षेत्रको सडक सञ्जालमा अवरोध आएको छ । चमोलीमा फेब्रुअरीमा पनि हिमताल फुटेर बाढी आउँदा कम्तीमा ७० जनाको ज्यान गएको थियो ।

गत माघमा उत्तराखण्डको चमोलीमा आएको हिमबाढीका कारण दुई वटा जलविद्युत् आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । भारतीय सञ्चारमाध्यमहरुका अनुसार चमोली जिल्लामा मात्रै ७ वटा जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

त्यसमा ऋषि गंगा पावर प्रोजेक्ट सबैभन्दा बढी प्रभावित भयो । बाढीका कारण सो परियोजना बन्द भएको छ । यस्तै चमोली हाइड्रोपावर पनि हिमबाढीले समस्यामा पारेको छ ।

विष्णुप्रयास हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट, बिरही गंगा हाइड्रो पावर, जलविद्युत् निगम, मेलखेत हाइड्रो पावर र राजभक्ती हाइड्रो पावर प्रोजेक्ट सो जिल्लामा छ । ऋषि गंगा पावर प्रोजेक्ट आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुन्छ । सोही नामबाट अर्को परियोजना पनि निर्माण गरिएको छ । त्यसको क्षमता १३ मेगावाट छ ।

यस्तै, बाढीका कारण समस्यामा परेको अर्को आयोजनाबाट ५ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

उत्तराखण्डमा मात्रै हालसम्म झण्डै ७ हजार मेगावाट बिजुली उत्पादन भएको छ । ठाडा नदीमा नजिक नजिकै जलविद्युत् आयोजना निर्माण गरिएका छन् । किनकी भारतको उत्तराखण्ड पावर स्टेशनको रुपमा समेत विकसित भएको छ ।

तर, पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण विशेष गरी नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना भने समस्यामा पर्न थालेका छन् । चमोलीमा आएको बाढीका कारण निर्माणाधिन जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

खनिएको कूल ३ किलोमिटर लामो सुरुङमध्ये २ किलोमिटर क्षेत्रमा हिलो पसेको थियो । त्यसको पुनः निर्माणको काम सामान्य रुपमा मात्रै शुरु भएको छ । सुरुङभित्र निर्माण गरिएका संरचनासमेत क्षतिग्रस्त भएका छन् ।

तपोवन परियोजनाको क्षमता ५२० मेगावाट पुर्याउने योजनाअनुसार काम भइरहेको छ । तपोवन परियोजना हाल निर्माणको क्रममा रहेको छ । एनटीपीसीले सो परियोजना निर्माण गरिरहेको छ ।

बाढीले बगाएको ऋषिगंगा परियोजना सन् २०१६ मा समेत बाढीले बगाएको थियो । बाढीले बगाएका कारण परियोजना बन्द भएपछि लगानीकर्ता बैंकले सो परियोजना कुन्दल समूहलाई जिम्मा लगायो ।

कुन्दल समूहले सो आयोजना ४५.६२ करोडमा लिएको थियो । बाढीका कारण सो आयोजनाको कूल ११२ करोड बराबरको नोक्सानी भएको सो समूहले टिव्टरमार्फत् जानकारी दिएको छ । सन् २०१९ बाट बिजुली उत्पादन शुरु गरेको आयोजना २ वर्ष पूरा नहुँदै पुनः बन्द भयो ।

उत्तराखण्डको चमोली जिल्लामा आएको बाढीका कारण एनटीपीसीको तपोवन हाइड्रोपावर प्रोजेक्टमा समेत नोक्सानी भएको छ । सो परियोजनाको कूल क्षमता ५२० मेगावाट छ ।

त्यसमा कूल १३० मेगावाट क्षमतामा ४ यूनिट रहनेछ । आयोजना निर्माणाधिन अवस्थामा छ । कूल ३००० करोड बराबरको लगानीमा सो आयोजना निर्माण भइरहेको छ ।

हिमताल विष्फोटन हुँदा बरफ, ढुंगा र माटोले बनेको बाँध फुटाई हिमतालमा रहेको अधिकांश पानी एकैपटक निस्कनाले अचानक बाढीको रुप लिई तल्लो तटीय क्षेत्रमा आउने हुन्छ । त्यसले माथिल्लो क्षेत्रमा भन्दा पनि तल्ला क्षेत्रमा बढी नोक्सान गर्नेछ । विशेषगरी च्छोरोल्पा तालले सधै जोखिम नै पारिरहेको छ ।

सो आयोजनाको बाँध ऋषिगंगा र धौलीगंगा नदीको संगममा छ । सो परियोजनाको अझै बिजुली उत्पादन भएको छैन । एनटीपीसीले ट्विटरमार्फत् तपोवन परियोजनामा क्षति पुगेको छ । बाँकी रहेको काम तथा निर्माणाधिन संरचना बचाउने प्रयास भइरहेको जनाएको छ । संरचना बचाउनका लागि जिल्ला प्रशासन तथा स्थानीय प्रहरीको सहयोग लिएको जनाएको थियो ।

नेपाललगायत हिन्दकुश–हिमालय क्षेत्रमा रहेको बरफको सञ्चितीमा हुने परिवर्तनले विश्व समूदायको ध्यान यता आकर्षित गरेको हो ।

धौलीगंगा त एउटा उदाहरण मात्रै हो । २१०० सम्म उत्तरी क्षेत्रमा रहेका ५० प्रतिशतबढी हिमताल बिस्फोट हुने अनुमान पनि सार्वजनिक भएको छ । उत्तरी तथा दक्षिणी धुव्र एवम् अन्र्टाटिकामा रहेको बरफै बरफको साम्राज्य पग्लदै जाँदा समुन्द्रमा पानीको सहत बढ्न जान्छ । त्यसले टापु देशहरुमा बढी समस्या आउनेछ ।

फिलिपिन्स र मालदिभ्स जस्ता देशहरु समुन्द्रमुनी पर्ने अवस्था आउनेछ ।

यस्तै, बर्मादेखि इरानसम्म फैलिएको हिन्दकुश क्षेत्रमा सयौं हिमताल बिस्फोट हुँदा त्यसले पहाडी देशहरु बढी मर्कामा पर्नेछन् । अर्बौ डलर बराबरको क्षति हुने छ ।

अमेरिकाजस्ता औद्योगिक देशले जलवायु परिवर्तनको विषयलाई नजरअन्दाज गर्दै आएको छ । भारत र चीनले पनि यस विषयलाई खासै चासो दिएका छैनन् । जसका कारण पानीको हाहाकार हुने र अशान्ति बढ्ने देखिन्छ ।

बारम्बार यस्ता घटना दोहोरिदा त्यसले पार्ने प्रभाव कति भयंकर रहेको छ भन्ने बारेमा तत्काल नै केही खोजबिन गर्नु जरुरी भइसकेको छ । समयमै नचेत्ने हो भने कोरोनाको भन्दा विषम अवस्था आगामी दिनमा आउन सक्ने देखिन्छ ।

हिमाञ्चल प्रदेशमा पनि अवस्था त्यस्तै रहेको छ । नेपालको उत्तरी क्षेत्र समेत उत्तिकै जोखिममा रहेको छ । त्यसकारण हिन्दकुश हिमालय क्षेत्रमा पर्ने सबै देशले साझा प्रयासका साथ एकीकृत कार्यक्रम ल्याउन ढिलाई गर्नु हुँदैन ।


पुष्प दुलाल