अष्ट्रेलियाले खारेज गर्यो चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड



एजेन्सी । अष्ट्रेलियाले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोडसँग गरिएको सम्झौता खारेज गरेको छ ।

पछिल्ला दिनमा चीन र अष्ट्रेलियाबीचको विवाद बढ्दै गएको सन्दर्भमा यस्तो विवरण सार्वजनिक भएको हो । जानकारहरुका अनुसार अमेरिका र चीनबीच समेत सम्बन्ध सुधार हुन नसकेको अवस्थामा अष्ट्रेलियाको नयाँ कदम सार्वजनिक भएको हो ।

उनीहरुकै शब्दमा विवादास्पद ठानिएको सम्झौता खारेज गरिएको छ । अष्ट्रेलियाले उक्त सम्झौता र परियोजनामा संलगन हुनुलाई मुर्खतापूर्ण निर्णय भएको भन्दै सच्याएको बताएको छ । क्यानबेरा र बेइजिङबीचको विवादका बीचमा सम्झौता खारेज गरेर अष्ट्रेलियाले आफूहरु पश्चिमा शक्तिसँगै रहेको बताएको छ ।

विदेशमन्त्री म्यारिस प्यानेले बुधबार भनेका छन– कमवबेल्थको नयाँ विदेशसम्बन्धी भिटो कानूनका आधारमा चिनियाँ राष्ट्रपतिको रणनीतिक महत्वको भनिएको उक्त परियोजना खारेज गरिएको हो ।

अष्ट्रेलियाले गत वर्षमात्रै उक्त कानून पारित गरेको थियो । अष्ट्रेलियाले सन् २००४ र १९९९ मा सिरियाको सम्बन्धमा प्रयोग गरिएको भिटोलाई कारण भनेको छ । चीन र रसियाले सिरियाको मामिलामा भिटो प्रयोग गर्दै आएको छ ।

बेल्ट एण्ड रोड परियोजना मार्फत १.५ ट्रिलियन डलर खर्च गर्ने लक्ष्यका साथ विश्वव्यापी रुपमा पूर्वाधार निर्माणको काम गर्ने लक्ष्य राखिएको छ । भिक्टोरिया क्षेत्रमा चिनियाँ कम्पनीले लगानी गर्ने सम्झौतामा उल्लेख थियो ।

चिनियाँ लगानीका सम्बन्धमा अष्ट्रेलियामा विगतदेखि नै विवाद रहँदै आएको थियो । गरिब देशलाई चीनले ऋणको पासोमा पार्न खोजेको आरोप लाग्दै आएको छ । अष्ट्रेलियाले सो परियोजनाको खारेजीका पछाडि पनि सोही कारणलाई औल्याएको छ ।

खासमा चीन र पश्चिमाबीचको विवाद तथा अमेरिका र रसियाबीचको विवाद नयाँ स्थानमा पुगेको बेला अष्ट्रेलियाले लिएको कदमले कस्तो प्रभाव पार्ला भन्ने विषयमा तत्कालै केही प्रतिक्रिया भने आएको छैन ।

अष्ट्रेलियाको पछिल्लो कदमका सम्बन्धमा बेइजिङको हालसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन । अष्ट्रेलियाको पत्रिका सण्डे हेराल्ड मर्निङले प्रकाशित गरेको समाचार अनुसार अब चीनसँग जोडिएका अन्य सम्झौताका बारेमा समेत पुनः विचार हुन सक्नेछ ।


क्लिकमान्डु