कोरोनाका कारण विश्व अर्थतन्त्र खल्बलिँदा, चीनको जीडीपीमा १८.३ प्रतिशतको वृद्धि
संसारभर नै कोरोनाका कारण अर्थतन्त्रमा चरम समस्या पैदा भइरहेको बेला उत्तरी छिमेकी चीनको अर्थतन्त्र भने उल्लेख्य मात्रामा वृद्धि भएको छ ।
विवरणहरु अनुसार यस वर्षको पहिलो त्रैमासिक अवधिमा तीव्र गतिमा वृद्धि भएको पछिल्लो पटक सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ ।
कोरोना भाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तीव्र विकास भएको हो । यो आम विश्वको तुलनामा असाध्यै धेरै हो ।
चीनले विगत तीन दशकयता देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यस वर्ष पहिलो त्रैमासमा कूल ग्राहस्थ उत्पादन (जीडीपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् ।
यद्यपि, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो ।
सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको वुहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो ।
राष्ट्रिय तथ्यांक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले राष्ट्रिय अर्थतन्त्र राम्रो ढंगबाट अगाडि बढिरहेको प्रतिक्रिया दिए । अघिल्लो वर्षको तुलनामा जीडीपीमा तीव्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जीडीपीमा न्यून वृद्धि पनि हो, उनले भनेका छन् ।
गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ । चिनियाँ अर्थतन्त्रको आधार स्तम्भका रुपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्यांकले देखाएको छ ।
औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ । केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो । प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताए ।
विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिनेक्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन् ।
चीनमा सहरी बेरोजगारी दर पनि केही घटेको छ । पहिलो त्रैमासिक अवधिमा सहरी बेरोजगारी ५.३ प्रतिशतको हाराहारीमा रहेको छ । संसारका धेरै जसो देशको अर्थतन्त्र उठन नसकिरहेको बेला चीनको दौड भने निक्कै अगाडि पुगेको छ । यसले आम विश्वलाई समेत नयाँ सन्देश दिएको छ । यो आफैमा आश्चर्यजनक परिणाम भएको बताइन्छ ।