नेपालले हरेक वर्ष लिने वैदेशिक सहायता आधा पनि खर्च हुँदैन



काठमाडौं । नेपालले हरेक वर्ष दातृ राष्ट्र तथा निकायहरुबाट लिँदै आएको सहुलियत प्राप्त ऋण, अनुदान र प्राविधिक सहायताको रकम आधा भन्दा कममात्रै खर्च हुने गरेको देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘विकास सहायता प्रतिवेदन २०७६/७७’ अनुसार नेपालले वार्षिकरुपमा प्राप्त गर्दै आएको वैदेशिक सहायताको रकम निकै कम खर्च हुने गरेको देखिएको हो ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले प्राप्त गरेको कूल वैदेशिक सहायता मध्ये ४० प्रतिशत बराबरमात्रै खर्च भएको देखिन्छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नेपालले प्राप्त गरेको कूल वैदेशिक सहायताको ४४ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा ३९ प्रतिशत बराबर मात्रै खर्च भएको देखिन्छ ।

पछिल्लो १० वर्ष अवधिमा सबैभन्दा धेरै आर्थिक वर्ष २०६६/६७ मा प्राप्त कूल विदेशी सहायताको ६६ प्रतशित बराबर खर्च भएको देखिन्छ ।

गत आर्थिक वर्षमा नेपालले २ अर्ब ३ लाख अमेरिकी डलर बराबर प्राप्त वैदेशिक सहायता मध्ये ८० करोड १२ लाख अमेरिकी डलर बराबर मात्र खर्च भएको देखिन्छ ।

वार्षिक बजेटमा विदेशी सहायता रकमको हिस्सा बढ्दै गएपनि खर्चको अनुपात भने बढ्न सबेको देखिँदैन ।

आर्थिक वर्ष २०७०/७१ यता वैदेशिक सहायताका रुपमा प्राप्त रकम कुनैपनि वर्ष आधा भन्दा बढी खर्च हुन सकेको देखिँदैन ।

गत आर्थिक वर्षमा कूल वार्षिक बजेटमा वैदेशिक सहायताको हिस्सा करिब ३७ प्रतिशत बराबर रहेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा कूल विनियोजित बजेटमध्ये ७१ प्रतिशत बजेट खर्च भएको थियो ।

चालू आर्थिक वर्षका लागि विनियोजित १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेटमा २ खर्ब ९९ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चितता वैदेशिक सहायताबाट गर्ने सरकारको लक्ष्य छ ।

यसरी प्राप्त वैदेशिक सहायतामा करिब ७० प्रतिशत सहुलियतपूर्ण ऋण हो । ऋण रकम विकासे काममा खर्च नहुने तर ब्याज रकम भने बढिरहेका भएका कारण अर्थतन्त्रमा यसले नकारात्मक असर पार्छ ।


पुष्प दुलाल