ग्लोबल आइएमईको डिबेन्चर ओभर सस्क्राइब



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको डिबेन्चर ओभर सस्क्राइब भएको छ । बैंकले गत चैत्र १ गते ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७ निष्काशन गरी बिक्री खुला गरेको थियो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको १,००० प्रतिऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । ऋणपत्र निष्काशन तथा बिक्री चैत १६ गतेसम्मका लागि तोकिएको थियो ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज दर रहेको छ भने अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुनेछ ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको थियो ।

यसका साथै लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवं तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।


पुष्प दुलाल