चैतका ३ सातामा बैंकको बिजनेशः ६४ अर्ब अर्ब निक्षेप, ८९ अर्ब कर्जा
काठमाडौं । बैंकहरुले चैत लागेपछि ६४ अर्ब रुपैयाँले निक्षेप थप गर्दा ८९ अर्ब रुपैयाँ कर्जा थप गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चैतको ३ सातामै सो परिमाणमा निक्षेप संकलन र कर्जा प्रवाह थप गरेका हुन् ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले फागुन मसान्तसम्म ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन चैत २० गतेसम्म आइपुग्दा ६४ अर्ब रुपैयाँले बढेर ३८ खर्ब ९० अर्ब रुपैयाँ पुर्याएका छन् ।
साथै, बैंकहरुले फागुन २८ गतेसम्म ३४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चैत २० गतेसम्म आइपुग्दा ८९ अर्ब रुपैयाँले बढेर ३५ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी, चैत ६ गतेसम्म बैंकहरुले ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन एक साताको बीचमा नै १० अर्ब रुपैयाँ निक्षेप थप भएर चैत १३ गतेसम्म ३८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको थियो । साथै चैत १३ गतेसम्म २८ अर्ब रुपैयाँ कर्जा प्रवाह थप भएर ३४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको थियो ।
चैत १३ गते यता चैत २० गते बीच एक सातामा भने ४० अर्ब रुपैयाँ निक्षेप र ३० अर्ब रुपैयाँ कर्जा थप भएको हो ।