प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा नयाँ प्रवृतिका बैंकिङ कसुर थपिँदै- गभर्नर अधिकारी



काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा नयाँ प्रवृतिका बैंकिङ कसुर थपिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

उनले नेपाल राष्ट्र बैंक, कानुन महाशाखाले आयोजना गरेको ‘बैंकिङ कसुरको अनुसन्धान, अभियान तथा बैंकिङ सुपरिवेक्षण’ सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रममा सो बताएका हुन् ।

उनले बैंकिङ बैंकिङ कसुर र सजाय सम्बन्धी कानुन जारी भएपश्चात् बैंकिङ कसुरजन्य क्रियाकलापको नियन्त्रणमा मद्दत मिले पनि पछिल्लो समयमा कसुरका नयाँ प्रवृत्तिले चुनौती थपेको बताए ।

‘सूचना प्रविधिको विकाससँगै बैंकिङ कसुरका नयाँनयाँ प्रवृत्तिहरू देखिन थालेका छन् । तिनको नियन्त्रणलाई विद्यमान कानुनले समेट्न सकेको छैन । त्यसलै कानुनी व्यवस्थामा सुधार गर्नुपर्ने आवश्यकता छ ।’

त्यसको निम्ति विद्यमान कानुनी व्यवस्थालाई संशोधन र परिमार्जन गर्नुपर्ने धारणा उनले राखे ।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ प्रणालीमा देखिएका कसुरलाई नियन्त्रण गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

‘विगतमा हामीबीच समन्वयको अभावले कुनै समस्या उत्पन्न भएको छ भने त्यसमा सुधार गर्दै अन्तरनिकाय समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।’

सोको निम्ति राष्ट्र बैंक, सरकारी वकिल र नेपाल प्रहरीबीच प्रभावकारी समन्वय एवम् सहकार्य हुनुपर्ने उनको धारणा थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीनवटै निकायको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै बैंकिङ कसुर नियन्त्रणमा उपलब्धि हासिल हुने धारणा राखे ।

हुण्डी र मौखिक माध्यमबाट हुने अन्य कारोबारले वित्तीय प्रणालीमा जोखिम सृजना गरेको उनको भनाइ थियो । साथै, सहकारी संस्थाको कारोबारलाई पनि प्रभावकारी नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता क्षेत्रीले औंल्याए ।

डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको अध्यक्षतामा सम्पन्न सो अन्तरकृया कार्यक्रमको समापन डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका हुन् ।

डेपुटी गभर्नर मिश्रले छलफल सत्रमा समापन मन्तव्य राख्दै बैंकिङ कसुरका विद्यमान कानुनी व्यवस्थामा सुधार गर्दै तीन वटै निकायबीच समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राखे ।


क्लिकमान्डु