राष्ट्रिय वाणिज्य बैंकद्धारा दुई कम्पनीलाई अनुदान रकम हस्तान्तरण
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट केवाई बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको छ । बैंकले सुजल डेरी प्रालिलाई १५ लाख ३५ हजार ९ सय ९५ रुपैंया र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई ४ लाख ६७ हजार ५ सय ५७ रुपैंया रकम हस्तान्तरण गरेको हो ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुंदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बुधबार एक समारोहका बिच हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उनले हालसम्म १९ वटा उद्योगहरुलाई ६ करोड ९४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।
यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम बैंकमार्फत उपलव्ध गराइने छ । साथै, कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम १ करोड रुपैयाँ सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।