हरेक वर्ष ४ लाख युवालाई रोजगारी दिने गरी काममा जुटेका छाैंः महासंघ अध्यक्ष गोल्छा 



ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष ४ लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका  छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवसका अवसरमा आज उनले समृद्ध मुलुक निर्माणका लागि केही योजना बनाएर हरेक निजी क्षेत्रका उद्योगी एवं व्यापारीलाई समेटेर अघि बढ्ने बताए ।

‘विदेशी मुलुकले उद्योग तथा व्यापारमा कसरी सफलता प्राप्त गरेका छन्, त्यसको अध्ययन र अनुशरण गर्न जरुरी छ, कोरोनाका कारण लगभग १० महिना थला परेको यो मुलुक भर्खरै तंग्रिँदै जानुमा निजी क्षेत्रले सकारात्मक सोचका साथ आफ्नो कामलाई अघि बढ्नुलाई लिइन्छ,’ उनले भने ।

मुलुकले आफ्नो अर्थतन्त्र सबल बनाउँदै लैजान थप योजनाबद्ध रुपमा अघि बढ्न जरुरी भएको उनले बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण व्यवसायमा घाटाको सामना गर्न बाध्य महानगरवासी उद्योगी तथा व्यापारीको हितमा आफूहरुले केही कर छुट गरेको बताए ।

‘आउँदा दिनमा हामी संघसँग मिलेर छिट्टै रात्रिकालिन बजार शुरु गर्नाका साथै प्रत्येक शनिबार मच्छिन्द्रनाथ जात्राको नरिवल खसाल्ने ठाउँ लगनखेलमा हरेक किसिमको बजार राख्न दिने योजना बनाइरहेका छाैं,’ उनले भने ।

सङ्घका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले व्यवसायीले तिर्नुपर्ने दण्ड तथा जरिवानालाई सङ्घले संशोधन गर्न जरुरी भएको गुनासो गरे ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले जिल्लाको व्यावसायिक वातावरण उच्च बिन्दुमा राख्ने काम गर्दै जाने मत व्यक्त गरे ।

‘हामीले यहाँको उद्योग अनि व्यापार क्षेत्रलाई बढवा दिन म्यानमार, थाइल्याण्ड, चीनलगायतका केही विदेशी मुलुकसँग भगिनी सम्बन्ध राख्दै आइरहेका छाैं,’ उनले भने ।

सङ्घका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले ललितपुरमा उत्पादन हुने सबै वस्तुको गुणस्तरमा ध्यान दिइने भनाइ राखे ।

सङ्घको स्थापना विसं २०२३ साल चैत ४ गते भएको थियो । कार्यक्रममा आफ्नो स्थापना कालदेखिनै सङ्घले जिल्लाका उद्योगी एवं व्यवसायीको हकहित तथा व्यवसाय प्रवर्द्धनमा  योगदान पुर्याउँदै आएको छ ।

यसैगरी सङ्घले आफूसँग २५ वर्षअघिदेखि अविरलरुपमा सदस्य रहेका ३६ उद्योगी तथा व्यापारीलाई सम्मान गर्नाका साथै चित्रकलामा पारङ्गत अर्का एक व्यक्ति वत्य गोपाल वैद्यलाई श्रष्टा सम्मानपत्रसमेत प्रदान गरेको छ ।


क्लिकमान्डु