कर्जाको औषत ब्याजदर ३ प्रतिशतले घट्यो, अन्तर बैंक ब्याजदर कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको औषत ब्याजदर ३.०५ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको भारित औषत ब्याजदर ११.९४ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ८.८९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा निक्षेपको भारित औषत ब्याजदर समेत १.९२ प्रतिशतले घटेको छ । गत आवको माघ मसान्तमा निक्षेपको औषत ब्याजदर ६.७८ प्रतिशत कायम रहेको थियो । चालु आवको सोही अवधिमा यस्तो ब्याजदर ४.८६ प्रतिशत कायम छ ।

यसैगरी सो अवधिमा वाणिज्य बैंकहरुको औषत आधारदर समेत २.४९ प्रतिशतले घटेको छ । गत वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकहरुको औषत आधारदर ९.४५ प्रतिशत रहेको थियो । जुन चालु आवको सोही अवधिमा ६.९७ प्रतिशत कायम भएको छ ।

२०७६ माघमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.९१ प्रतिशत रहेकोमा २०७७ माघमा १.१३ प्रतिशत रहेको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुको ३ खर्ब ६० अर्ब ८५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब २८ अर्ब ८० करोड रुपैयाँ गरी कुल ४ खर्ब ८९ अर्ब ६५ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १० खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १०० अर्ब ३७ करोड रुपैयाँ गरी कुल ११ खर्ब ५९ अर्ब ४६ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ माघमा ४.५९ प्रतिशत रहेकोमा २०७७ माघमा ०.५८ प्रतिशत रहेको छ ।

मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ माघमा ०.५९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु