भैरहवामा ४ अर्ब लगानीमा बोधी होम्स हाउजिङ, शुरुमा बुकिङ गर्ने २० जनालाई ५ लाख छुट



काठमाडौं । भैरहवामा ४ अर्ब लगानीमा ‘बोधी होम्स्’ हाउजिङ परियोजना निर्माण शुरू भएको छ । हाउजिङ, पाँच तारे होटललगायत बैंक वित्तय क्षेत्रमा अनुभवी भएका टोलीले अध्ययनसहित भैरहवामा हाउजिङ परियोजनाको निर्माण शुरू गरेको हो ।

बोधी बिल्डर्सले निर्माण शुरु गरेको बोधी होम्स दुई चरणमा निर्माण हुनेछ । पहिलो चरणमा १०५ र दोस्रो चरणमा १९५ वटा घर निर्माण हुने बोधी होम्समा अध्यक्ष जलेश्वर पाण्डेले क्लिकमाण्डूलाई जानकारी दिए ।

पछिल्लो समय भैरहवा परम्परागतबाट आधुनिकतर्फ परिणत हुँदै गएकाले सामूहिक लगानीमा ३०० वटा घर निर्माण हुने उनले बताए ।

उक्त परियोजनामा सीए दीपक पाण्डे, सांसद प्रमोद यादव, दिनबन्धु पोखरेल, एनआरएनए छविलाल कुँवर र रविन्द्र कुँवरलगायत अन्य व्यवसायी लगानी छ ।

भैरहवामा पहिलो चरणमा निर्माणको काम १०५ वटा घर निर्माण गत माघ ९ गतेदेखि शुरु भइसकेको उनले बताए । पहिलो चरणको परियोजना २ वर्षमा सक्ने उनको अनुमान छ । साथै, पहिलो चरणको निर्माण परियोजना सम्पन्न भएपपछि मात्रै दोस्रो परियोजना शुरु हुने पाण्डेले बताए ।

कुल १४ बिघा (१८६ रोपनी ६ आना १.८८५ दाम) मा निर्माण सम्पन्न हुने यस परियोजना भैरहवाकै ठूलो आवासीय परियोजना हो । साथै, हाउजिङ परियोजनामा निर्माण हुने घर १३ धुर (६ आना ३ पैसा २.७६४ दाम) देखि १८ धुर (९ आना २ पैसा १.३६६ दाम) सम्मका हुनेछन् । जसमा ३०० घरहरु साढे २ तलासहित ४ वटा विभिन्न डिजाइनमा निर्माण गरिने योजना रहेको पाण्डेले बताए ।

हाउजिङ परियोजना भैरहवामै किन ?
पछिल्लो समय विभिन्न व्यवसायीले हाउजिङ परियोजना निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । सोही अनुसार ५ तारे होटल, आवासीय कोलोनी, काठमाडौंसमेतमा ठूलो हाजिङमा लगानी गरेका तथा बैंक वित्तीय संस्थामा अनुभवीद्वारा निर्माण शुरु भएको भैरहवामा एक आधुनिक सहर बन्न सक्ने अनुमानका साथ सो परियोजना शुरु गरेको पाण्डेको दावी छ ।

‘भैरहवा एक परम्परागत सहर हो । पछिल्लो समय काठमाडौंपछिको आधुनिकरुपमा विकसित हुनका लागि सम्भावित सहर भैरहवा हो । साथै, निकट भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने छन् । त्यसैले सम्पूर्ण व्यवसायीले अध्ययन गरेको निर्माण शुरु गरेको हो,’ उनले भने ।

त्यस्तै लुम्बिनी गुरुयोजनाको कार्यान्वयन पनि द्रुतरुपमा अगाडि बढेकाले संसारभरका बौद्धलम्बीहरू आउन सक्ने सम्भावना अत्यन्तै बढी छ । त्यसमा अन्तर्राष्ट्रिय विमानस्थलहरू शुरु भइसकेपछि नेपालीभन्दा पनि बढी सीमा क्षेत्रका भारतीयहरूले विमानस्थलको प्रयोग हुने बढी सम्भाना छ । यसले गर्दा भैरहवाको आर्थिक स्थिति गतिविधि निकै बढ्ने अनुमानले गर्दा आगामी दिनमा उक्त क्षेत्रमा आधुनिक सहरको आवश्यक रहेकाले परियोजना शुरु गरेको जानकारी दिए ।

‘अहिले विभिन्न हाउजिङ परियोजनासहित भैरहवामा तीन वटा पाँच तारे होटल निर्माण कार्य अघि बढिसकेको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘आगामी दिनमा लुम्बिनी नजिकै भएकाले बौद्धलम्बीहरूको केन्द्र र गुरुयोजनाको द्रुतरुपमा बढिरहेकाले संसारभरीका पर्यटक तान्ने सम्भावना पनि छ ।’

निकट भविष्यमा भैरहवाको आर्थिक स्थितिलगायत आधुनिक शहरको रुपमा परिणत हुने योजनाको साथ शुरु भएको उक्त योजनाबाट धेरै लाभान्वित हुने उनको दावी छ ।

घरमा यस्ता हुनेछन् सुविधा
निर्माण शुरु भएको हाउजिङ परियोजनामा हाउजिङ परियोजनामा हुनुपर्ने सम्पूर्ण सुविधा हुने पाण्डेले बताए । जसमा घरहरूमा सम्पूर्ण आधुनिक सुविधासहित परियोजनाभित्र स्वीमिङ पुल, २४ फिटको चौडा बाटो, हेल्थ क्लव, कार्यक्रम गर्नका लागि कम्यूनिटी हल, पर्याप्त मात्रामा बगैंचा हुनेछ ।

यसका साथै, पर्याप्त मात्रामा पार्किङ स्पेस, अत्यन्त चुस्त दुरुस्त खालको सुरक्षा, सपिङ सेन्टरलगायत आधुनिक हाउजिङ परियोजनामा हुने सम्पूर्ण सुविधा हुने उनको दावी छ ।

पहिलो बुकिङ गर्ने २० घरधनीलाई ५ लाख छुट दिने
परियोजनाको निर्माण शुरु दुुई चरणमा हुने भएको उक्त दुई चरणमा निर्माण हुने परियोजना ४ वर्षमा सम्पन्न हुनेछ । जसमा पहिलो परियोजना २ वर्ष र अर्को परियोजना २ वर्षमा सकिने पाण्डे बताए । साथै, अब केही दिनमै बुकिङ खुला गरिनेछ । जसमा बुकिङ खुल्लापश्चात मूल्य तय गर्ने पाण्डेले बताए ।

उनका अनुसार बुकिङ खुला भएपश्चात पहिलो बुकिङ गर्ने २० जना व्यक्तिलाई ५ हजारको दरले छुट दिने बताए । निर्माण भइरहेको घरहरु आवासीय तथा व्यवसायीक प्रयोजनका लागि हुनेछ ।

उपयुक्त मूल्यमा घर पाउने
अहिले मानिसको व्यवस्तताका कारण घर निर्माण गर्नेभन्दा पनि निर्माण भइसकेको घर किन्न प्रचलन छ । पूर्वाधारसहित बन्न लागेको घरहरू एउटा व्यक्ति स्थायीरुपमा बस्ने योजना किनेको अवस्थामा सम्पूर्ण सुविधाहरु उपयुक्त मूल्यमा पाउने उनले जिकिर गरे । साथै, निर्माण भइसकेपछि ग्राहक सन्तुष्ट र खुसी हुने उनको दावी छ ।

त्यस्तै, व्यवसायीक रुपमा लगानी गरेर बेच्न चाहने व्यक्तिका लागि पनि अवसर रहेको उनको बुझाइ छ । जसमा व्यवसायीहरूले अहिले बुकिङ गरेर एक वर्षपछि बिक्री गरेको अवस्थामा अपेक्षाभन्दा बढी फाइदा लिन सक्ने उनको अनुमान छ ।

‘अहिले बैंकको सहकार्यमा ७ प्रतिशतमा आफ्नो ग्राहकहरूलाई ऋण दिइरहेको छ,’ उनले भने, ‘तर, एक वर्षपश्चात उक्त निर्माण शुरु भएको परियोजना घरहरुको मूल्य ४० देखि ५० प्रतिशतसम्म बढ्नेछ ।’

प्रत्यक्षरुपमा २०० जनाले रोजगारी पाउने
निर्माण शुरु भएको परियोजनामा प्रत्यक्ष रुपमा २०० भन्दा बढी श्रमिकले रोजगारी पाउने भएका छन् ।

हाल शुरु भएको परियोजनामै १५० भन्दा बढी श्रमिक कार्यरत छन् । परियोजनामा आगामी दिनमा प्रत्यक्षरुपमा २०० भन्दा बढी श्रमिकले रोजगारी पाउनेछन् । चार वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको परियोजनमा प्रत्यक्षरुपमा २०० जना श्रमिक र अप्रत्यक्ष रुपमा ५० भन्दा बढीले कार्य सम्पन्न नभएसम्म रोजगारी उनको भनाइ छ ।


क्लिकमान्डु