मूल्यवृद्धि भएपछि भारतले इरान र भेनेजुयलाबाट तेल ल्याउँदा नेपालमा कस्तो प्रभाव पर्ला ?



भारतमा पुनः इरानको तेल आयात गर्ने विषयमा छलफल शुरु भएको छ । के इरानको इन्धन आएपछि उपभोक्तालाई राहत होला त ? आमचासो यसैमा रहेको छ ।

पेट्रोल तथा डिजलको मूल्य बढ्दै गएको समयमा त्यसलाई कम गर्ने ध्येयका साथ भारत सरकारले इरानाबाट कच्चा तेल आयत गर्ने विषयमा छलफल गरिरहेको छ । यस्तै भेनेजुयलाबाट पनि इन्धन ल्याउने विषयमा छलफल जारी छ ।

अमेरिकाको प्रतिबन्धपछि भारतले ती दुई देशबाट इन्धन ल्याउने विषयलाई स्थगित गरेको थियो । किनकी अमेरिकी प्रशासनले इरान र दक्षिण अमेरिकी देश भेनेजुयलाबाट इन्धन आयात गर्ने विषयलाई अपराधको संज्ञा दिएको थियो ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशमाथि कडा प्रतिबन्ध लगाएका थिए । सोही कारण इन्धन आयातमा समस्या परेको थियो ।

भारतमा लगातार इन्धनको मूल्यवृद्धि भएपछि त्यसको सबैभन्दा ठूलो मार उपभोक्तालाई परेको छ । नेपालले पनि भारतबाट नै इन्धन खरिद गर्ने गरेको छ ।

सोही कारण भारतमा मूल्य बढ्ने बित्तिकै नेपालमा समेत त्यसको प्रभाव पर्दछ । भारतमा पछिल्ला दिनमा इन्धनको लगातार मूल्य बढेको विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।

सन् २०१९ मा भारतले भेनेजुयलाबाट इन्धन आयातमा लगाइएको प्रतिबन्धका कारण आयातमा रोक लगाइएको छ ।

भेनेजुयलाबाट आयात गरिने कच्चा इन्धन भारतको रिलायन्स कम्पनीले ल्याउने गरेको थियो । सोही वर्ष इरानबाट पनि अमेरिकी प्रतिबन्धका कारण आयात रोकियो ।

सो समयमा भारतले साउदी अरब, इराकपछि इरानाबाट सबैभन्दा बढी इन्धन आयात गरेको थियो । भारत कुनै समय भेनेजुयलाको समेत सबैभन्दा ठूलो खरिदकर्ता थियो ।

भारतमा सरकार चलाइरहेको बिजेपीमा एक नेता गोपालकृष्ण अग्रवालले एक विकल्पका रुपमा इरान तथा भेनेजुयलाबाट कच्चा तेल खरिद गर्ने कोशिस गरिरहेको बताएका छन् ।

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन राष्ट्रपतिमा आएपछि इरानमाथि लाग्दै आएको प्रतिबन्ध खुकुलो हुने अपेक्षा गरिएको छ । त्यसका लागि भारतको तर्फबाट पनि कोशिस जारी रहेको छ ।

केही समय पहिले भारतका इन्धनमन्त्री धर्मेन्द्र प्रधानले ती दुई देशसँग इन्धन आपूर्तिको विषयमा छलफल भइरहेको बताएका थिए । उनले कोशिस जारी रहेको र केही समय पछि परिणाम देखिने बताएका थिए ।

इरानले भारतलाई इन्धन भारतीय रुपैयाँमा नै दिने गरेको थियो । अमेरिकी डलरको आवश्यकता पर्दैनथ्यो । इरानले सो पैसाबाट आफूलाई आवश्यक पर्ने अन्य सामान खरिद गर्ने गरेको थियो । यस्तो खालको सम्झौताले दुई देशलाई नै फाइदा दिएको थियो ।

यस सातामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७१ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ । जसका कारण पेट्रोलको मूल्य भारतमा लगातार बढिरहेको छ । भारतीय सहरमा मात्रै पेट्रोल बढेर १०० भारुसम्म पुगेको छ ।

पेट्रोल, डिजल तथा खाना पकाउने एलपी ग्यासको मूल्य नियन्त्रणमा लिनका लागि भारतले प्रयास गरिरहेको छ । तर, अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको मूल्यमा कारण उसको प्रयासलाई निष्प्रभावी बनाइदिएको छ ।

साउदी अरब तथा तेल उत्पादन गर्ने देशहरुको संगठन ओपेकले कच्चा तेलको उत्पादन घटाएका छन् । जसका कारण मागमात्रै बढेको छैन, मूल्य पनि बढिरहेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारत ओपेक देशका विरुद्ध इन्धनको खपत गर्ने देशहरुलाई संगठित गर्ने प्रयासमा लागेको छ । भारतले रुस, अमेरिका, नाइजेरिया र ब्राजिलबाट पनि इन्धन खरिद गरिरहेको छ । लकडाउनपछि भारतको अर्थव्यवस्थामा तेलको माग उच्च रुपमा बढेको छ ।

संसारमा नै भारत तेल आयात गर्ने देशहरु मध्ये शीर्ष तेस्रोमा रहेको छ । पहिलोमा अमेरिका र दोस्रोमा चीन रहँदा भारत तेस्रो रहेको छ । पछिल्लो वर्ष उसले आफनो कूल खपतको ८५ प्रतिशत इन्धन खरिद गरेको थियो । त्यसमा मोदी सरकारले १२० अर्ब डलर खर्च गरेको थियो ।

यहाँ अर्को एउटा महत्वपूर्ण सवाल रहेको छ कि के भारत अब इरान वा भेनेजुयलाबाट इन्धन आयात गर्ने विषयमा गम्भीर भएर सोचमग्न छ वा त्यसका लागि तयारी गरिरहेको छ ? प्रश्न सोचनीय छ । त्यसबाट भारतीय उपभोक्तालाई राहत मिल्न सक्छ ?
पछिल्लो वर्ष लकडाउनका कारण अन्तर्राष्ट्रिय बजारमा जब कच्चा तेलको मूल्य ओरालो लागेर प्रतिब्यारेल २० डलर बराबर आइपुगेको थियो ।

सिंगापुरलाई केन्द्र बनाएर इन्धनको विषयमा अध्ययन गरिरहेका तेल विशेषज्ञ बन्दना हरिका अनुसार सो समयमा मोदी सरकारले इन्धनमा अतिरिक्तरुपमा कर लगाइदिएका थिए ।

सन् २०१४ मा भारतमा मोदीको उदय हुँदा प्रतिव्यारेल इन्धनको मूल्य १०६ अमेरिकी डलर रहेको थियो । त्यसपछि क्रमशः तेलको मूल्य ओर्लिदै गएर ७२ सम्म आएको थियो । भारतमा पेट्रोल तथा डिजलको मूल्यमा ४५९ प्रतिशतले वृद्धि भएको छ ।

भारत सरकारले १५ मार्चसम्म अतिरिक्त करका विषयमा निर्णय गर्ने अनुमान गरिएको छ । तर, तत्काल निर्णय नगर्ने हो भने त्यसबाट भारत मात्रै नभई नेपाललगायतका देश समेत प्रभावित हुने विश्लेषण गरिएको छ ।


क्लिकमान्डु