वैदेशिक रोजगारीमा जानेले म्यानपावरकै बैंक खातामा रकम जम्मा गर्नुपर्ने
काठमाडौं । वैदेशिक रोजगारीका लागि छनौट भएका कामदारले तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको आधिकारिक बैंक खातामा जम्मा गर्नुपर्ने भएको छ ।
रोजगारीमा जान चाहने युवाबाट व्यवसायीले आफूखुसी रकम उठाएको पाइएपनि वैदेशिक रोजगार विभागले बुधबार एक सूचना मार्फत आधिकारिक बैंक खातामा रकम जम्मा गर्न आग्रह गरेको हो ।
कामदारले आफू जान लागेको कामको लागि तिर्नुपर्ने रकम म्यानपावर कम्पनीको बैंक खातामा जम्मा गरी ठगी हुनबाट जोगिन अनुरोध गरेको हो ।
रकम जम्मा गरेको भौचर प्रति सुरक्षित राख्न र कम्पनीले समेत छनौट भएका कामदारबाट लिने प्रवद्र्धन खर्च तथा लागत संस्थाको बैंक खातामार्फत लिने कार्य गर्न तथा गराउन विभागले निर्देशन दिएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा जान लागेका नागरिकले अन्तरवार्तामा छनौट भएपछि मात्रै इजाजत प्राप्त म्यानपावरलाई सक्कल पासपोर्टलगायत आवश्यक कागजात बुझाउन विभागले सुझाएको छ ।
त्यस्ता कम्पनीले लिने आवदेकबाट प्रतिलिपि वा स्क्यान कपी मात्र माग गरी छनौट भएका कामदार बाहेक अरुका सक्कल राहदानी जम्मा गर्ने गराउने कार्य नगर्न विभागले आग्रह गरेको छ ।
अनुमति बिना कसैले पनि वैदेशिक रोजगारी सम्बन्धी कार्य गराउन नपाउने भएकाले कोही कसैको प्रलोभनमा नपर्न भनिएको छ ।
‘कोही कसैले कुनै इजाजतप्राप्त संस्थामा आबद्ध छु भनेमा सो कुराको यकिन गर्न तथा वैदेशिक रोजगारी विभागको वेवसाइटमार्फत जाँच गर्न अनुरोध गरेको छ । यस्तै, सम्बन्धित इजाजतपत्रवाला संस्थामा सिधै सम्पर्क गर्न पनि सूचनामा आग्रह गरिएको छ ।
अनलाइन पुनः श्रम स्वीकृतिको लागि सेवाग्राही आफैंले आवेदन गरी श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था विभागले गरेको छ । पहिले फारम भर्दाको एफएमआईएमएस प्रयोगकर्ता अकाउन्टबाटै आवेदन गर्नुपर्ने हुँदा उक्त एफएमआईएमएस प्रयोगकर्ता अकाउन्टको पासवर्ड बिर्सिएमा फरगट पासवर्डमार्फत पासवर्ड पुनः प्राप्त गर्नुपर्ने हुन्छ ।
सेवाग्राहीको एफएमआईएमएस प्रयोकर्ता अकाउन्टको इमेल ठेगाना वा मोवाइल नम्बर गलत प्रविष्टि भएकोले पासवर्ड रिकभर हुन नसकेकाले भने पासवर्ड रिसेट गर्नुपर्ने हुन्छ । यसको लागि वैदेशिक रोजगार कार्यालय, काठमाडौं एवं प्रदेशस्थित श्रम रोजगार कार्यालय र गन्तव्य मुलुकस्थित नेपाल कुटनैतिक नियोगबाट निवदेनको ढाँचा प्राप्त गरी रिसेटको सेवा लिन सक्नेछन् ।