मेलम्चीकाे पानी र सडक विस्तारको काम सकिएपछि काठमाडौँ हिलो-धुलोमुक्त हुन्छः प्रमुख शाक्य



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेलम्ची खानेपानी आयोजनाको काम सकिएसँगै काठमाडौँलाई हिलो धुलोमुक्त बनाउन सकिने बताएका छन् ।

काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि शाक्यले यस्तो बताएका हुन् ।

समझदारी पत्रमा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका छन् ।

‘काठमाडौँबासी लामो समयदेखि मेलम्चीको पानी आउने आशामा छन् । काठमाडौँबासी सबैलाई मेलम्चीको नाम थाहा छ,’ प्रमुख शाक्यले भने, ‘आज त्यही नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्दै गर्दा मेलम्ची र काठमाडौँबासीको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ ।’

शाक्यले मेलम्ची खानेपानी विस्तारको आयोजना सम्पन्न नहुँदा काठमाडौँ महानगरको धेरै बजेट सडक खन्ने र पुर्नेमा खर्च हुँदै आएको उल्लेख गरे ।

‘खानेपानी आयोजना र सडक विस्तारको काम छिटो सम्पन्न भयो भने यहाँका सडकलाई धुलो हिलोमुक्त बनाउन सकिन्छ,’ प्रमुख शाक्यले भने, ‘काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई नगरको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरणका लागि थप प्रयास हुने अपेक्षा पनि लिएका छौँ ।’

उनले नगर-नगर साझेदारी कार्यक्रम अन्तरगत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकासँग पनि साझेदारी गरिसकेको स्मरण गराए ।

शाक्यले मुलुक भित्रकै स्थानीय तह-स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यको महानगरपालिकाले गरिरहेको भन्दै त्यसले पर्या-पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताए ।

महानगरबासीबाट पनि यस्तो कार्यबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए । शाक्यले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्र्नलगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताए ।

‘मुर्त–अमूर्त संस्कृति, सम्पदा र पर्यटनलाई स्थानीय सरकारको समृद्धिको आधार मान्दै त्यसको संरक्षणमा दत्तचित्त भएर काठमाडौँ महानगरपालिका लागेको छ,’ शाक्यले भने, ‘एकै पटक धेरै वटा स्थानीय तहसँग मितेरी लगाउँदा त्यसलाई दिगो बनाउन समस्या हुनसक्छ ।

भगिनी सम्बन्ध स्थापना लगत्तै काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट अन्तर्गत मेलम्ची नगरपालिकासँगको सहकार्यमा पर्यटकीय स्थलका रुपमा विकास गर्न मेलम्ची सिटी पार्क निर्माण गर्ने गरी सम्झौता गरिएको छ ।

महानगरपालिकाले समझदारीपछि मेलम्ची नगरपालिका-१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ रकम अनुदान दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा पनि प्रमुखद्वय शाक्य र अर्यालले नै हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले वार्षिक करीब ५० करोडको दूधसँगै दाल, चामल र अन्य तरकारी समेत मेलम्चीबाट काठमाडौँ आउने गरेको स्मरण गराउँदै जनजिवीकाका सवालमा पनि काठमाडौँ र मेचम्चीबिचको भगिनी सम्बन्ध थप प्रगाढ बनाउन सकिने तर्क गरे ।

उनले जर्सिङ पौवाको बाटो स्तरोन्नतीपछि मेलम्ची र काठमाडौँको दूरी अझ कम हुने भएकाले पर्यटकीय गन्तव्यका रुपमा पनि दुई नगरलाई जोड सकिने बताए ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको बताइन् ।

मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवनी नेपालले पाँचपोखरी, गुफाडाँडा जस्ता पर्यटकीय स्थल र हेलम्बु जाने प्रवेशद्वार पनि मेलम्ची नै भएकाले पर्यटनको प्रशस्त संभावना भएकाले भगिनी सम्बन्धले आगामी दिनमा थप सहकार्य गर्न सकिने भन्दै खुशी व्यक्त गरिन् ।


क्लिकमान्डु