कोभिडपछि महंगा घर बिक्रीमा राख्नेको संख्या बढ्यो, आर्थिक संकटले महंगा घर बेच्ने बढे



काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले सम्पूर्ण उद्योग, व्यापार व्यवसायमा निकै प्रभाव परेको थियो ।

साथै, कतिपय व्यापार व्यवसाय लकडाउन र निषेधाज्ञाले गर्दा बन्द गर्नुपर्ने बाध्यता भए । यस अवधिमा कैयौं साना–साना व्यापारीहरूले भाडा तथा अन्य समस्याले व्यापार नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भयोे । हाल अधिकांश व्यवसाय सञ्चालन छन् । तर, उक्त सञ्चालनमा रहेका व्यापार व्यवसाय चलायमान हुन भने करिब एक/डेढ वर्ष लाग्ने व्यवसायीहरूको अनुमान छ ।

तर, लामो समयको बन्दाबन्दी र निषेधाज्ञामा पनि थोरै मात्रामा प्रभाव क्षेत्र हो घर जग्गा किनबेच अर्थात रियल स्टेट कारोबार । लामो समयको बन्दाबन्दीमा अधिकांश कारोबार रोक्का भएता पनि रियल स्टेटमा भने कुनै असर नपरेको व्यवसायीहरू बताउँछन् ।

साथै, कतिपय व्यवसायहरूमा कारोबार नहुँदा मूल्य घटाउने, अफर सार्वजनिक गर्ने गरेता पनि रियल स्टेट कारोबारमा भने ह्वात्तै मूल्य बढेको रियल स्टेट एजेन्टहरूको भनाइ छ । रियल स्टेट एजेन्टहरूको अनुसार मालपोत कार्यालयबाट हुने लिखित पारित, रोक्का, फुकुवा जस्ता कार्यहरू रोकेता किनबेचमा भने कुनै काम नरोकिएको बताएका छन् ।

पछिल्लो समय कोरोना भाइरस तीब्र रुपमा बढीरहेको अवस्थामा पनि उपत्यकामा घरजग्गाको मूल्य वृद्धि हुनुको साथै घरजग्गामा लगानी गर्ने व्यक्तिहरू पनि अत्याधिक बढेका छन् ।
साथै कोभिड पछि अत्याधिक मात्रामा ठूला–ठूला घर तथा बंगला खाली भई बिक्रीमा रहेको व्यवसायीहरू बताउँछन् ।

घरहरूको खरिद बिक्री जुनसुकै अवस्थामा पनि निरन्तर चलिरहन्छ । तर, कोभिडपछि भने घर बिक्री गर्ने मानिस बढेको नेपाल होम सर्चका सञ्चालक प्रकाश सुब्बा बताउँछन् ।

साथै, कोभिडपछि मूल्य पनि वृद्धि भएको उनले बताए । ‘कोभिडको समयमा सबै खालको व्यवसाय बन्द भयो । जसमा कतिपय व्यवसायीले शेयरमा लगानी गरे कतिपयले रियल स्टेटमा,’ उनले क्लिकमान्डूसँग भने, ‘यस अवधिमा अधिकांश व्यवसायीहरू रियल स्टेटमा लगानी गरेको पाइन्छ । त्यसैले मूल्य निकै वृद्धि भएको अवस्थामा धेरै बङ्ग्ला तथा घरहरू बढी बिक्रीमा राखिएको हो ।’

उनका अनुसार अहिले काठमाडौंको ९० प्रतिशत घरहरू बिक्री रहेको बताए । साथै, नेपाल होम सर्चमा हालसम्म १५० भन्दा बढी बिक्री रहेको उनले बताए ।

बजारमा कोरोनाले गर्दा कुनै पनि व्यापार व्यवसायले राम्रो आम्दानी गर्न पाएका छैनन् । सले गर्दा बैंकबाट ऋण निकालेर निर्माण भएको ठूला ठूला घर तथा बङ्गला अत्याधिक बिक्रीमा रहेको नेपाल प्रोपर्टी मार्केटका सञ्चालक अमोल प्रधानले जानकारी दिए । उनका अनुसार उपत्यकामा बैंकका ऋणलगायत अन्य विभिन्न समस्याले हाल २ करोड बढी मूल्यका करिब ८ सयसम्म बिक्रीमा रहेको बताए ।

‘कोभिड अगाडि पनि घर खरिद बिक्री त्यति नै हुन्थ्यो । तर पछिल्लो समय बढी नै देखिनुको कारण भने धेरै समयसम्म कारोबार होल्ड भएकाले अहिले बढी देखिएको रियल स्टेट इन नेपालका सञ्चालक गोपाल बारोडी बताउँछन् । तर, केही हदसम्म आर्थिक संकट भएका कारण धेरै घर धनीहरूले आफ्नो घर बिक्रीमा राखेको अवस्था रहेको उनले बताए ।

धेरै जसो अधिकांश लगानी अन्य क्षेत्रमा लगानी गर्दा धेरै सुरक्षित नदेखिएर यस क्षेत्रमा लगानी बढ्नुका साथै घर बिक्री पनि बढेको उनको भनाइ छ । हालसम्म स्टेट इन नेपालमा करिब ५० वटा घर तथा बंगला बिक्री रहेको उनले बताए ।

यस्तो छ कारण ?

बजारमा अत्याधिक घर बिक्रीमा राख्नुको एउटै कारण रहेको हो कोभिड–१९ । कोरोनाले गर्दा लामो समयसम्म व्यापार गर्न नपाउँदा आर्थिक संकट खेप्नुप¥यो । यसले गर्दा कैयौं मानिसले बैंकको ऋण तथा अन्य समस्या झेल्न बाध्य भएकाले घर बिक्री गर्ने व्यक्तिको संख्या बढेको व्यवसायीहरूले बताएका छन् ।

त्यसैगरी, अन्य क्षेत्रमा लगानी भएका व्यवसायीले आफ्नो सम्पति सुरक्षित गर्नको लागि रियल स्टेटमा अत्याधिक लगानी गरेसँगै घरजग्गाको मूल्य ह्वात्तै बढ्यो । यसले गर्दा कतिपय व्यक्तिहरूले बजारमा मूल्य बढेसँगै धेरै मूल्य आएमा बिक्री गर्ने मानसिकताले नीजि आवास बिक्रीमा राखिएको व्यवसायीहरूको अनुमान छ ।


क्लिकमान्डु