राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन, बैशाखमा दुई चरणमा निर्वाचनको प्रस्ताव



काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन स्वीकृत गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नका लागि आइतबार बिहान राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

राष्ट्रपति कार्यालयबाट जारी भएको सूचनामा संसद बिघटन गर्दै आगामी बैशाख १७ गते पहिलो चरण र बैशाख २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवम् संसदीय प्रणालीको मर्म एवम् मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

संविधानमा के छ व्यवस्था ?
संविधानको धारा ७६मा मन्त्रिपरिषदको गठन सम्बन्धि व्यवस्थामा उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने उल्लेख छ ।

त्यसैगरी उपधारामा ७ मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ ।

साथै धारा ८५ मा प्रतिनिधि सभाको कार्यकाल सम्बन्धि व्यवस्थामा यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ । उपधारा २ मा उपधारा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि संकटकालीन अवस्थाको घोषणा वा आदेश लागू रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधि सभाको कार्यकाल एक वर्षमा नबढ्ने गरी थप गर्न सकिनेछ । उपधारा ३ मा उपधारा २ बमोजिम थप गरिएको प्रतिनिधि सभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले छ महीना पुगेपछि स्वतः समाप्त हुनेछ ।


क्लिकमान्डु