राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषदबीच युवालाई उद्यमशील सम्बन्धी सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषदबीच बिहीबार एक कार्यक्रमकाबीच काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले हस्ताक्षर गरे ।
सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ । र, सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौता पछी हट्ने बताउँदै लाखौ युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले यो तालिमले युवालाई व्यवसाय र सीप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषदका उपसचिव कमला ज्ञवालीले युवाहरुलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु सरोज बस्नेत, राज्यलक्ष्मी खड्गी, युवा उद्यमी सञ्जालका संयोजक लोचन बस्नेतका साथै कर्मचारीहरुको उपस्थिती थियो ।