उर्जा बचत गरेवापत राष्ट्रिय वाणिज्य बैंकले दियो विभिन्न कम्पनीलाई २ करोड बढी अनुदान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम’ को अनुदान सहयोग कार्यक्रम अन्तर्गत रकम हस्तान्तरण गरेको छ । बैंकले विभिन्न कम्पनीहरुलाई उर्जा बचत गरेवापत २ करोड बढी अनुदान रकम हस्तान्तरण गरेको हो ।
जसमा बैंकले पशुपति आइरन एण्ड स्टील प्रालिलाई एक करोड रुपैयाँ, बोटलर्स नेपाल लिलाई ५२ लाख ९४ हजार रुपैयाँ, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार रुपैयाँ, हिमाल आइरन एण्ड स्टील प्रालिलाई सात लाख ३४ हजार रुपैयाँ र इस्ट एशियन प्लाष्टिक इन्डष्ट्रिज प्रालिलाई दुई लाख ४० हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक मंगलबार एक समारोहका बीच हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । उनले हालसम्म १७ वटा उद्योगहरुलाई ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी ईफिसियनसी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट इक्सक्युटिङ एजेन्सीको रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।
यस आयोजना अन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत् उपलव्ध गराइने छ ।
यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम १ करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।