बीमा समितिको अध्यक्ष बन्न आधा दर्जन बढी इच्छुक, चापागाईं र शिवाकोटीको चर्चा बढी



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष बन्न आकांक्षीहरुको दौडधूप शुरु गरेका छन् । अहिलेका अध्यक्ष चिरञ्जीबी चापागाईंको कार्यकाल सकिने दिन नजिकिँदै गर्दा आकांक्षीहरुले सक्रियता बढाएका हुन् ।

आकांक्षीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, पार्टी अध्यक्ष प्रचण्डलगायतका शक्तिकेन्द्रसँगको सम्पर्क बढाएका छन् ।

अध्यक्ष चापागाईंको कार्यकाल आगामी पुसदेखि सकिँदैछ । यद्यपि उनी अर्को कार्यकाल अध्यक्ष बन्ने दौडमा छन् ।

२०७३ पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो । पुस २४ गते नियुक्तपत्र पाएका चापागाईले २७ गतेबाट जिम्मेवारी समालेका थिए

नेकपाकै सरकार भएको बेला आफ्नो नियुक्ति भएको र अहिले पनि नेकपाकै सरकार भएकाले फेरि दावी गर्नु स्वाभाविक भएको चापागाईं बताउँछन् ।

‘म अध्यक्ष बनेर आइसकेपछि बीमा क्षेत्रमा धेरै सुधारका कामहरु भएका छन्, यो कुरा तथ्यांकहरुले पनि देखाउँछ, काम गर्ने सिलसिलामा कतिपय कामहरु पूरा हुन सकेका छैनन्,’ चापागाईंले भने, ‘अधुरा कामहरु पूरा गर्नका लागि मैले इच्छा व्यक्त गरेको हुँ ।’

फेरि अध्यक्ष बन्नका लागि आफू कुनै शक्तिकेन्द्र नधाएको चापागाईंले स्पष्ट पारे ।

‘म कुनै पनि शक्तिकेन्द्र धाएको छैन, मैले गरेको कामको आधारमा सरकारले विश्वास गरेर जिम्मेवारी दियो भने सम्हाल्न तयार छु,’ उनले भने ।

नेकपाका दुईअध्यक्ष प्रचण्ड र ओलीबीच ठूलो अन्तरद्वन्द्ध छ । ओली प्रधानमन्त्री समेत छन् । चापागाईं पूर्वमाओवादी मात्रै होइनन्, प्रचण्ड निकट पनि हुन् । जसकारण अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीले प्रचण्डसँग नजिक भएको व्यक्तिलाई समितिको अध्यक्ष नियुक्ति गर्ने संभावना निकै कम छन् ।

त्यसबेलासम्म कुरा मिल्यो र सरकारी नियुक्तिमा दुई अध्यक्षबीच भागबन्डा मिल्यो भने मात्रै चापागाईं अध्यक्ष बन्ने संभावना बलियो हुन्छ । अर्थमन्त्री विष्णु पौडेल ओलीका विश्वासपात्र मानिन्छन् । यस अर्थमा पूर्वमाओवादीबाट भन्दा पूर्वएमाले अर्थात् प्रधानमन्त्री र अर्थमन्त्रीले चाहेको व्यक्ति समितिको अध्यक्ष बन्ने बलियो संभावना छ ।

त्यसोभए को बन्ला त ?
पूर्वएमालेबाट बीमा समितिको अध्यक्ष बन्दा सबैभन्दा शशक्त दाबेदार हुन् चिन्तामणि शिवाकोटी । उनी अहिले राष्ट्र बैंकको सिनियर डेपुटी गभर्नर छन् ।

गत चैतमा गभर्नर बन्न लागि परेका शिवाकोटीलाई ओली सरकारले पत्याएन । यद्यपि ओलीले शिवाकोटीलाई अर्को कुनै महत्वपूर्ण ठाउँमा नियुक्ति गर्ने आश्वासन दिएको बताइन्छ । त्यही आशामा छन् शिवाकोटी अहिले ।

‘गभर्नर बन्न्का लागि म दौडिएको थिएँ तर सरकारले बनाएन,’ शिवाकोटीले भने, ‘अहिले बीमा समितिको अध्यक्ष चाहियो भन्दै हिँडेको छैन । तर सरकारले जिम्मेवारी दियो भने सम्हाल्न तयार छु, नाई चाहीँ भन्दिन ।’

नियामक निकायमा बसेको ३ दशक लामो आफ्नो अनुभवले बीमा समितिलाई धेरै माथि पुर्याउन सकिन्छ भन्ने आत्मविश्वास रहेको उनले सुनाए ।

को को छन् अरु ?

चापागाईं र शिवाकोटी बाहेक आधा दर्जन बढीले समितिको अध्यक्ष बन्ने आकांक्षा देखाएका छन् । नेपाल इन्स्योरेन्सका सीइओ बिजयबहादुर शाह, नेप्सेका अध्यक्ष टंक पनेरु, पुनर्बीमा कम्पनीको पूर्वअध्यक्ष महेश गुरागाईं र पूर्वसीइओ रमेश लम्साल, राष्ट्र बैंकका निर्देशकसमेत रहेका निवर्तमान अर्थमन्त्री युवराज खतिवडाका छोरीज्वाईं रामशरण खरेललगायतले आकांक्ष देखाएका छन् ।

आफ्ना ससुरा हुँदा खरेलले अध्यक्ष बन्ने आकांक्षा देखाएका थिए । विष्णु पौडेल अर्थमन्त्री भएर आएपछि खतिवडाको बजेट भएका नीतिगत व्यवस्थाहरुलाई धमाधम करेक्सन गरिरहेका छन् । जसमा प्रधानमन्त्रीको पनि साथ छ । त्यसैले खरेलको संभावना सबैभन्दा कम देखिन्छ ।
बाहिर चर्चा भएजस्तै गरी प्रधानमन्त्रीले शिवाकोटीलाई बचन दिएका हुन् भने उनी समितिको अध्यक्ष बन्ने सबैभन्दा ठूलो संभावना देखिन्छ ।

त्यसबाहेक कुनै आकांक्षीले अर्थमन्त्री विष्णु पौडेलमार्फत् प्रधानमन्त्रीलाई कन्भिन्स गर्न सकेको खण्डमा उसले बाजी मार्ने संभावना पनि उत्तिकै बलियो छ । अर्थमन्त्री कन्भिन्स भए भने उनले प्रधानमन्त्रीलाई समेत कन्भिन्स गर्न सक्ने ल्याकत राख्छन् । यो कुरा बुझेका आकांक्षीहरुले अर्थमन्त्रीसँग सामिप्यता बढाउन विभिन्न स्रोत र शुत्रहरुको प्रयोग गरिरहेका छन् ।


पुष्प दुलाल