सानिमा बैंकले ऋणपत्र निष्काशन गर्दै, कति पाइन्छ ब्याजदर
काठमाडौं । सानिमा बैंकले १० वर्ष अवधिको लागि ‘८.५०% सानिमा डिबेन्चर २०८७’ नाममा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ४० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्ने जनाएको छ ।
प्रतिकित्ता एक हजार रुपैयाँको दरले उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा २४ लाख कित्ता बैंकले व्यक्तिगत रुपमा बिक्री गर्ने भएको छ भने १६ लाख कित्तामा ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लागानी कोष र बाँकी रहेको १५ लाख २० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
यसको ब्याजदर वार्षिक ८.५० प्रतिशत रहेको छ । न्यूनतम २५ देखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले पुस १ देखि ५ गतेसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस १५ गतेसम्म आवेदन दिन सकिने छ ।
बैंकको ऋणपत्रमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलएट’ रेटिङ दिएको छ । यसले जोखिम न्यून रहेको जनाएको छ ।