फेसबुकबाट शुरु भएको पिरती, बनायो घर न घाटको



काठमाडौं । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनको थिएन ।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

‘गत वर्षको फागुन ११ गतेको कुरा हो’, ताराले भनिन ‘घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।’

‘तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ’ , रमेशको भनाइ उल्लेख गर्दै ताराले भनिन्, ‘वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरे, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।’

त्यसपछि उनी डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा गए । एक÷दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । ‘जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती गर्भपतनको औषधि खुवाई गर्भपतन गराइयो ।’

असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो । ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको भइन् । दुवैजना माइती घरमा गए ।

झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उनले गहँभरि आँशु खसाल्दै भनिन् ‘माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आए पछि तेरो लाश हुन्छ’ भनेर धम्की दिन थाले ।’

उनले त्यसपछिका कुरा खोतल्दै भनिन ‘सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो ।’

ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताएकी हुन् । रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन ।

उनी भन्छिन् ‘कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।’

घर न घाटकी हुनुभएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुगेक िछिन् । सेवा केन्द्रको सेफहाउसमा बस्दै आएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ ।

‘ प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ’ अधिकारकर्मी बिष्नादेवी पन्तले भनिन ‘ भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।’

सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उनले बताइन् ।

प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउछिन् ।

अन्तरक्रियामा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्यादतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउछन् । कानूनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उनको भनाइ छ ।

‘ पुरुषको तुलनामा महिला अधिक हिंसामा पर्ने गरेका छन् । यसको मुख्य कारकका रुपमा जाँडरक्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो’ अधिवक्ता भट्टले भने ‘ केही नपाइने ठाउँमा मदिरा पाइन्छ । यसको नियन्त्रण जरुरी छ ।’

एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उनले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताए । उनका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् ।

‘ कानूनी उपचार नगरिकनै अधिकांश हिंसाका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्’ उनले भने ‘ सबैभन्दा बढी यौनजन्य हिंसाका घटना बढी छन् । त्यसपछि मानसिक प्रताडनाका घटना आउने गरेका छन् ।’

झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिंसाका छ, गालीगलौजका १२, कुटपिटका २०, वादविवादका तीन, बालविवाहका ५ अलपत्र परेका महिला ५  बहुविवाहका चार गरी ५५ जनाले उजुरी गरेका छन् । तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ । रासस


पुष्प दुलाल