पाम आयलको निर्यातसँगै आयात पनि घट्यो



काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०७६÷०७७ को पुस २३ गते आफ्नो मुलुकमा पाम आयलको आयातमा प्रतिबन्ध गर्ने निर्णय गर्यो ।

नेपालको व्यापार घाटा घटाउन महत्वपूर्ण ठानिएको पाम आयलमा भारतले लगाएको प्रतिबन्धसँगै नेपाली बजारको पाम आयलमा निर्यातसँगै आयात पनि कम भएको छ ।

नेपालबाट निर्यात गर्दै आएको पाम आयल प्रतिबन्ध लगाएसँगै देशभित्रका व्यवसायी तथा उद्योगीहरूले असन्तुष्टि जनाउँदै आएको छ । तर, हालसम्म पनि पाम आयल उल्लेखनीयरुपमा निर्यात गर्न सफल हुन सकेको छैन ।

गत पुसबाट पाम आयलमा प्रतिबन्ध भएसँगै निर्यात तथा आयात निकै कम निर्यात भएको छ । विगतका दिनमा अर्बौको निर्यात गर्दै आएकोमा अहिले भने लाखौंको मात्रै निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसैगरी चालु आर्थिक वर्षको कात्तिक महिनामा ४ लाख ४३ हजारको मात्रै पाम आयल निर्यात भएको छ । जसमा ३ हजार केजी मात्रै पाम आयल निर्यात गर्न सफल भएको छ ।

गत वर्षको कात्तिक महिनासम्ममा नेपालले ८ अर्ब ३९ करोड ५६ लाख ५९ हजारको पाम आयल निर्यात गरेको थियो । जसमा सरकारले ८ करोड २२ लाख ४७ हजार केजी पाल आयल निर्यात गरेको थियो ।

उक्त तथ्याङ्कसँग तुलना गर्दा वैदेशिक व्यापार घाटामा सहयोग पुर्याउँदै आएको पाम तेलको निर्यात शून्य जस्तै देखिन्छ ।

आयातमा पनि गिरावट
त्यसैगरी भारत सरकारले पाम आयल निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा पनि आयात कम भएको छ ।

गत वर्ष कात्तिक महिनामा नेपालले ११ करोड ५५ लाख ५३ हजार केजी पाम आयल आयात गरेको थियो । त्यस्तै ७ अर्ब ९३ करोड १४ लाखको पाम तेल आयात गरेको थियो । उक्त आयात गरेको तेलबाट सरकारले १ अर्ब २२ करोड ७७ लाख ८२ हजार राजस्व संकलन गरेको थियो ।

त्यस्तै यो वर्ष भने गत वर्षको तुलनामा करिब ६ अर्बले नै आयात घटेको देखिन्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको कात्तिक महिनासम्ममा २ करोड ५६ लाख ५८ हजार पाम आयल आयात गरेको छ ।

त्यसैगरी नेपालले २ अर्ब १३ करोड ९८ लाख रुपैयाँ बराबरको पाम तेल आयात गरी ५२ करोड ४० लाख ८३ हजार मात्रै राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु