टेलिकम र कृषि विकास बैंकका ५१ वटा साइनबोर्ड महानरपालिकाले हटायो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका ५१ वटा विज्ञापनका बोर्ड हटाएको छ ।
ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्धनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरले ती विज्ञापन बोर्ड हटाएको हो ।
माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने जिम्मेवारी कृषि विकास बैंङ्कले लिएको थियो । मण्डला क्षेत्रको व्यवस्थापन बैङ्कलाई दिने बिषयमा महानगरले गएको मंसिर ८ गते नै निर्णय गरेको थियो ।
माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डका डिभाइडरको व्यवस्थापन भने नेपाल टेलिकमले गर्दै आएको थियो । गत चैत ४ मा माइतीघर मण्डलाको सौन्दर्यीकरण गर्ने सम्झौतापत्रमा महानगरकातर्फबाट तत्कालिन सहसचिव राजेश्वर ज्ञवाली र बैंक तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गरेका थिए ।
बैङ्कले महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्व पूरा गर्ने बताएको थियो ।
सम्झौताबमोजिम भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ उल्लेख गरिएको थियो ।
५ बर्षका लागि गरिएको सम्झौताअनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने र उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने उल्लेख गरिएको थियो ।
माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्डमा सम्झौताको पालना गरी नेपाल टेलिकमले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्ने सम्झौता भएको थियो ।
तर, दुबै संस्थालाई पटक–पटक आग्रह गर्दा पनि सम्झौता अनुसार काम गर्न आनाकानी गरेपछि बाध्य भएर साइनबोर्ड हटाएको महानगरपालिकाले जानकारी दिएको छ ।
सम्झौता अनुसार व्यवस्थापन र मर्मत सम्हारमा ध्यान नदिने तर बिज्ञापन राख्नमा मात्रै ध्यान दिएपछि महानगरपालिका आफैँले ती स्थानको सौन्दर्य निर्माण र संरक्षण गर्ने तयारी गरेको छ ।
रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि महानगरपालिकाले माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिसकेको छ । उनीहरुले चासो नदेखाएपछि महानगरपालिका आफैले माइतीघर मण्डलालाई व्यवस्थित र आकर्षक बनाउने कार्यक्रम अघि बढाएको हो ।
सम्झौता अनुसार काम अघि नबढेपछि माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा राखिएका ५१ वटा साइनबोर्ड नगरप्रहरीको सक्रियतामा क्रेन लगाएर हटाएको हो ।