घर-दैलोमै पुगेर स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्छौः मेयर शाक्य



काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘हामीले चाहेर पनि महामारी नियन्त्रण गर्न सकिरहेका छैनौं । काठमाडौंबासी सबैको जीवन रक्षा गर्न कोरोनाको चेन ब्रेक गर्नुको अर्को विकल्प छैन,’ शाक्यले भने, ‘अहिले बजारतिर हेर्ने हो भने कतै पनि कोरोना छ जस्तो लाग्दैन । जता पनि ठेलमठेल गरेर बजारमा आउने र जाने क्रम छ । त्यसलाई नियन्त्रयण गरेर चेनब्रेक गरेर अघि बढ्नुपर्छ ।’

उनले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पनि त्यहि सुझाव दिएको जानकारी दिए ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका मेयर शाक्यले सरकारलाई उपत्यकामा कोरोना नियन्त्रयणका लागि दिएको सुझावलाई नेपाल सरकार मन्त्रिपरिषद् बैठकले निर्णय गरी सकारात्मक रुपमा अघि बढाउनेमा आफु आशावादी रहेको बताए।

‘हामीले सुझाव दिएका छौँ,’ उनले भने, ‘मन्त्रिपरिषदले के निर्णय गर्ने हो गर्छ त्यो उसको कुरा भयो । सकारात्मक निर्णय बैठकले गर्ला भन्ने अपेक्षा लिएका छौँ ।’

केही दिन अघि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी–सदस्यबीचको छलफलमा फोमरका तर्फबाट कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरंग आउन नदिन केही समयका लागि उपत्यकामा कडा खालको लकडाउन गर्न सुझाव दिइएको थियो ।

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले स्वाब संकलनका लागि मोबाइल भ्यान संचालनमा ल्याउने तयारी गरेको पनि जानकारी दिए ।

‘अशक्त, अपाङ्गता भएका, जेष्ठ नागरिकलाई सहज स्वास्थ्यको पहुँच पुर्याउने हेतुले काठमाडौँ महानगरपालिकाले उहाँहरु बसोबास गरेकै ठाउँमा अर्थात घर–दैलोमै पुगेर स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालनको तयारी गरेको छ,’ शाक्यले भने, ‘अशक्त, अपाङ्गता भएका, जेष्ठ नागरिकलाई धेरै सहज हुने हामीले अपेक्षा छ । पहिलो चरणमा एउटा भ्यान सञ्चालनमा ल्याउन लागेको हो । आवश्यक पर्यो भने थप भ्यान पनि सञ्चालनमा ल्याउने तयारी भएको छ ।’

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को प्राविधिक सहयोगमा महानगरपालिकाले यस्तो भ्यान सञ्चालनमा ल्याउन लागेको हो ।

शाक्यले काठमाडौँ महानगरपालिका टेष्टको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न आग्रह गरे ।

‘अहिले कोरोनाको लक्षण देखिएका, स्वाब दिएका र संक्रमण भएकाहरू पनि समुदायमा खुल्लम खुल्ला हिँडिरहेका छन्,’ उनले भने, ‘कतिपय मानिसहरु केही नभए जसरी हिँडिरहेका छन् । यसले समस्या झन भयावह हुने खतरा बढी हुन्छ । पटक–पटक शंका लाग्यो फेरि एक चोटी गरौँ न त भन्ने हो भने त्यसले पनि राज्यलाई व्ययभार बढाउने मात्रै होइन लक्षित वर्ग परिक्षणको दायरा भन्दा बाहिर रहने सम्भावना हुन्छ ।


क्लिकमान्डु