कोरोना विरुद्धको खोपमा शक्तिशाली देशको प्रतिस्पर्धा, कुन कम्पनीको खोप के कति सुरक्षित ?



काठमाडौं । झण्डै एक वर्षदेखि संसारलाई तवाह बनाइरहेको कोरोना महामारीलाई अब क्रमशः विजय हासिल गर्ने दिन नजिकै आइरहेको छ । पछिल्ला दिनमा रसियाबाट शुरु भएको कोरोना विरुद्धको खोपको सकारात्मक समाचार अब बेलायत र अमेरिकाबाट पनि आउन थालेको छ ।यस्तै छिमेकी देश चीनले पनि आफूहरुले निर्माण गरेको कोरोना विरुद्धको खोप अन्तिम चरणमा रहेको जनाएको छ ।

चीनले त उसले निर्माण गरेको खोप संसारका झण्डै तीन दर्जन बढी देशमा परिक्षण एवम् प्रयोगका लागि सम्झौता नै भइसकेको जनाएको छ ।

नेपालमा पनि स्वास्थ्य अनुसन्धान परिषद्ले चिनियाँ खोपको परिक्षणका लागि प्रक्रिया अगाडि बढाएको बताएको छ । सरकारले अध्यादेश नै ल्याएर भएपनि खोप ल्याउने र प्रयोग गर्ने तयारीमा आफूहरु रहेको बताएको छ ।

बेलायतको फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ । करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६ हजार व्यक्तिलाई समावेश गर्ने जनाएको छ ।

अध्ययनको नेतृत्व गरिहेका डा. साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए । उनले खोप परीक्षणका लागि विश्वभरका छ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ।

फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको बिबिसीले जनाएको छ ।

यस्तै अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको खोप ९५ प्रतिशत सुरक्षित र प्रभवकारी रहेको विवरणहरु आएका छन् । यसलाई खोप निर्माता कम्पनलिे एउटा ठूलो दिन भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ । बिबिसीका अनुसार यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित रहेको छ ।

उक्त खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो। बाँकीलाई डम्मी खोप (वास्तविक खोप होइन) लगाइएको थियो । पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको बताइएको छ ।

ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए। बाँकी ९० जना डम्मी खोप दिइएकाहरू रहेको बिबिसीको विवरणमा समावेश छ । समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ । यो ठूलो दिन भएको मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले बीबीसी न्यूजसँग भनेका छन् ।

सुरक्षासम्बन्धी कुनै महत्त्वपूर्ण चासोबारे केही कुरा आएको छैन । तर प्यारासिटामोलसहित कुनै पनि शतप्रतिशत सुरक्षित छैन । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ ।

कुनै खोपले यदि काम गरिरहेको छ र एउटा राम्रो प्रतिरोधी क्षमता उत्पन्न गराइरहेको छ भने यस्ता खाले असरको हामीले अपेक्षा गर्न सक्छौँ इम्पेरीअल कलेज लन्डनस्थित प्राध्यापक पिटर ओपेनशाले भनेका छन् ।उक्त खोप भण्डारणमा समेत सहज रहेको बताइएको छ ।
मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने उल्लेख छ ।

यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिने विवरणमा समावेश छ । फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो ।

उता चिनियाँ कम्पनी सिनोभ्याकको पनि झण्डै ९५ प्रतिशत सफलता मिलेको बताइन्छ । रसियन कम्पनीले  तयार पारेको स्पुतनिक ५ को बारेमा भने पछिल्ला दिनमा केही बताइएको छैन ।

कोरोनाले तहस नहस पारेको विश्व अर्थतन्त्रलाई सुधार गर्न खोप प्रभावकारी हुने विवरण सार्वजनिक भइरहेको बेला यसले नयाँ खालको प्रतिस्पर्धा जन्माइदिएको छ । शक्तिशाली देशहरुबीचको खोपको लडाईले पार्ने प्रभावका बारेमा तत्काल नै भन्न गाह्रो भएपनि यसले नयाँ खालको संघर्षलाई भने जन्माइदिएको छ ।

किनकी बजार कब्जा गर्ने होडमा तयार पारिएका खोपको प्रभावकारिता के कति रहन्छ भन्ने बारेमा स्वतन्त्र छानबनि गर्ने र मानव स्वास्थ्यमा पार्ने प्रभावका बारेमा बताइदिने निकाय भने यतिखेर आम विश्वका लागि चासोको विषय बनेको छ ।

चीन, अमेरिका, बेलायत, रसिया जस्ता देशहरुले तयार पारेको खोप बाँकी विश्वका लागि के कति मात्रामा सुरक्षित र प्रभावकारी होला भन्ने विषयमा उनीहरुले आम मानिसलाई जानकारी दिनु पर्दछ ।

अन्यथा, व्यापारका नाममा तयार पारिएका खोपले मानवीयतालाई भने सहयोग गर्ने छैन । कारण, महामारीले सिर्जना गरेको त्रासलाई तत्काल कम गर्न बल मिलेपनि त्यसले फरक खालका स्वास्थ्य समस्या निम्त्याउने नै छ । विभिन्न समाचार एजेन्सीको सहयोगमा 


पुष्प दुलाल