केही पूर्व अध्यक्षले चेतावनी दिँदा कामगर्न समस्या भयोः वरिष्ठ उपाध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं भावी अध्यक्ष शेखर गोल्छाले अहिलेको ३ वर्षे वरिष्ठ उपाध्यक्षको कार्यकालमा महासंघको नेतृत्वलाई केही पूर्व अध्यक्षले चेतावनी दिने गरेकाले कामगर्न समस्या पार्दै आएको बताएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूले गएको ३ वर्षमा भोगेको नमिठो अनुभवलाई आगामी दिनमा चिर्न र सुधार्नका लागि पनि आफ्नो टिम चाहिने भएकोले वस्तुगत तर्फका उपाध्यक्ष अन्जन श्रेष्ठलाई जिताउन आवश्यक रहेको धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले कोभिड १९ का कारण देशभरीका उद्योग व्यवसाय धरासायी भएको भन्दै त्यसलाई उठाउनुपर्ने चुनौती आफ्नो नेतृत्वमा रहेको बताए । ‘कोभिड १९ ले ल्याएको समस्या दिर्घकालिन हुने बताईएको छ र त्यो मेरा लागि अवसर र चुनौती दुबैको रुपमा आएको छ, अवसरको रुपमा बदल्नका लागि ससक्त टिम चाहिन्छ’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

नेपालको अर्थतन्त्र उच्च लागतसहितको भएको भन्दै त्यसलाई नघटाएसम्म निर्यात प्रतिस्पर्धी हुन नसक्ने भन्दै गोल्छाले नेपालको ब्राण्डिङ्ग गरेर उत्पादन बिक्री गर्ने वातावरण बनाउन आफ्नो टीम दत्तचित्त भएर लाग्ने बताए ।

कार्यक्रममा निर्वाचनमा वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठले सरकारी नीतिगत अस्पष्टता हुँदा उद्योग व्यवसायलाई चुनौती थपिएको भन्दै स्पष्ट र दिर्घकालिन नीतिका लागि आफूले काम गर्ने बताए ।

आगामी दिनमा देशभित्र रोजगार सिर्जना गर्न र उद्योगमैत्री वातावरण बनाउनका लागि नै शसक्त वस्तुगत तर्फको नेतृत्व हुनुपर्ने र त्यो आफुले गर्न सक्ने भन्दै आफूलाई बिजयी गर्न श्रेष्ठले अनुरोध गरे ।

कार्यक्रममा वर्तमान जिल्ला नगरतर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानले केहि स्वार्थी व्यवसायीहरुका कारण अन्य व्यवसायीहरुले दुःख पाउँदै आएको भन्दै आफ्नो उम्मेदवारीले त्यस्तो स्वार्थलाई निर्मुल गर्ने बताए ।

उनले आगामी दिनमा गुणस्तरसहितको व्यवसायिक गतिविधि र कामहरु गर्नुपर्ने भन्दै उद्योगी व्यवसायीको हकहितका लागि असल काम गर्दा सरकार बाधक भएपनि अगाडि बढ्ने बताए ।


क्लिकमान्डु