वडाको अनुदानमा कृषि सहकारीलाई गाडी, कृषकको उत्पादनले बजार नपाउने समसया हट्यो
सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका–३ स्थित धुस्कुनमा स्थानीयस्तरमा उत्पादित कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले वडाको आर्थिक अनुदानमा गाडी खरिद गरी कृषि सहकारीलाई दिइएको छ ।
कृषि तथा पशुजन्य उत्पादनको ढुवानीका लागी वडाको १३ लाख रुपैयाँ अनुदानमा धुस्कुन कृषि सहकारीलाई गाडी खरिद गरी उपलब्ध गराइएको हो । सरकारी अनुदानमा गाडी आएपछि धुस्कुनका कृषक खुशी भएका छन् । ‘गाउँको उत्पादन अब बजारसम्म लैजान सजिलो हुनेभयो’, कृषि सहकारीका लागि गाडी आएपछि स्थानीय कृषकले खुशी व्यक्त गरे ।
वडाको १३ लाख अनुदान र अपुग रकम सहकारीले नै व्यवस्थापन गरी कृषिजन्य उत्पादन ढुवानीका लागि गाडी खरिद गरी ल्याइएको धुस्कुन कृषि सहकारीका अध्यक्ष बलराम न्यौपानेले बताए । ‘अब गाउँका उत्पादनको बजारीकरण र ढुवानीका लागि सजिलो भएको छ, वडाको सहयोगमा सहकारीले गाडी प्राप्त गरेको छ’, अध्यक्ष न्यौपानेले भने ।
कृषि क्षेत्रलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरी वडाले कार्यक्रम सञ्चालन गरिरहेको वडाध्यक्ष सुकदेव रिसाल बताए । आर्थिक वर्ष २०७७÷७८ का लागि पनि वडाले गाईभैँसी अनुदान र कुखुरापालन व्यवसाय बीमा कोष स्थापना गरेको छ । बीमा कोष ५ लाखबाट शुरु गरिएको र यस्ता कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताइएको छ ।
गाईभैँसी अनुदानअन्तर्गत धुस्कुन कृषि सहकारीसँग समन्वय गर्दै गाईभैँसी पाल्ने कृषकका लागि अनुदान उपलब्ध गराइने वडाध्यक्ष रिसालले बताए । ‘पशुपालन गरी आयआर्जन गर्छु भन्नेका लागि बजेटको अभाव हुन दिइने छैन”, रिसालले भने । यसअघि धुस्कुन कृषि सहकारीमार्फत वडाकै अनुदानमा दुग्ध चिस्यान केन्द्रका लागि आवश्यक उपकरण खरिद गरी ल्याइएको थियो ।