साढे तीन वर्ष अघिको बिन्दु नजिक सेयर बजार, कारोबार रकम ४ अर्ब बढी
काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्से परिसूचक झण्डै साढे तीन वर्ष अघिको बिन्दुमा पुगेको छ । बुधबार नेप्से मापन गर्ने सूचक २८.८९ अंकले बढेर परिसूचक १७०७.६७ बिन्दुमा रोकिएको छ ।
बुधबार सूचक साढे तीन वर्ष अघिको बिन्दु नजिक पुगेको छ । २०७३ चैत २९ गते नेप्से परिसूचक १७०९.८२ बिन्दुमा रहेको थियो । आज बधुबार त्यसको नजिक अर्थात १७०७.६७ बिन्दुमा पुगेको छ ।
कारोबारको सुरुमा बढेर केही समय थोरै ओरालो लागेको बजार झण्डै १२ बजेपछि उकालो लाग्न थालेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२३ अंकले बढेर ३३५.६२ बिन्दुमा रोकिएको छ ।
यो दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । सेयर पनि धेरै नै कारोबार भएको छ । १९५ कम्पनीको १ करोड २५ लाख २३ हजार ६५१ कित्ता सेयर ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा वित्त कम्पनी कम्पनीको परिसूचक २.८६ अंकले घट्दा अन्य ११ वटा समूहको उपसूचकमा सुधार देखिएको छ ।
साढे तीन वर्ष अघिको नजिक परिसूचक पुग्दा बुधबारको कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा देखिएको छ । कम्पनीको २५ करोड ९० लाख २८ हजार ९३० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र एनआईसी एसिया बैंक रहेको छ । यो दिन ६ वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, बिशाल बजार कम्पनी, एनआईसी एशिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको हो ।
यो दिन आईसिएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।