नयाँ अनुसन्धान गर्ने सोचमा हुनुहुन्छ ? कात्तिक मसान्तसम्म दिनुहोस आवेदन
काठमाडौं । के तपाईले नयाँ खोज तथा अनुसन्धान गर्ने सोचमा हुनुहुन्छ ?
आर्थिक स्रोतको अभावमा तपाईले आफूसँग भएको ज्ञान, सीप वा इच्छाशक्ति भएर पनि पूरा गर्न सक्नुभएको छैन ? के लकडाउनका कारण यसअघि थाहा पाएर पनि आवेदन दिन सक्नु भएको छैन ?
यदि छैन भने राष्ट्रिय योजना आयोगले तपाईको सोचलाई पूरा गर्न आवेदन दिने समय पुनः थप गरेको छ ।
आयोगले नयाँ खोज तथा अनुसन्धानलाई उपलब्ध गराउने शुरुवाती अनुदान दिने समय कात्तिक मसान्तसम्म थप गरेको हो ।
आयोगले यसअघि गत वैशाख २९ गते सार्वजनिक सूचना मार्फत ३० दिन भित्र अनलाइनमार्फत आवेदन दिन भनेको थियो । लकडाउनका कारण अपेक्षित वर्ग तथा क्षेत्रले आवेदन दिन नपाएका कारण समय थप गरेर असोज मसान्तसम्म लाई निर्धारण गरेको थियो ।
उक्त अवधिमा पनि प्रयाप्त आवेदन नपरेको भन्दै आयोगले समय थपेर कात्तिक मसान्तसम्मको लागि पुनः थप गरेको हो ।
आयोगले ‘नवप्रवर्तन शुरुवाती पुँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६’ तथा ‘नवप्रवर्तन शुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भए बमोजिम अनुदान उपलब्ध गराइने भएको छ ।
नवीनतम ज्ञान, सीप र क्षमता भएका आविस्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई त्यस्तो उद्यम तथा व्यवसाय सञ्चालन गर्न शुरुवाती पुँजीको रुपमा अनुदान उपलब्ध गराइनेछ । सो कार्यविधि अनुसार ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन भनिएको थियो ।
कोरोना भाइरसको महामारीले मुलुकको अर्थतन्त्रमा परेको असरको कारण असोज मसान्त हुँदै अहिले कात्तिक मसान्तसम्म समय थपिएको आयोगले जनाएको छ ।
आव २०७७÷०७८ मा नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहत गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
त्यसको लागि चालु आवको बजेट वक्तव्यको बुदाँ ५९ मा भएको व्यवस्था अनुसार कार्यविधि संशोधन लगायतका थप प्रशासनिक काम गर्नुपर्ने हुँदा कात्तिक मसान्तसम्मको समय थप गरिएको आयोगको भनाइ छ ।
आयोगले संशोधित कार्यविधि र अन्य प्रक्रियाका बारेमा पुन सार्वजनिक जानकारी दिने जनाएको छ ।