कोरोना नियन्त्रणमा सरकार पुरै असफल, सजग भएर दसैँ मनाउनुः सभापति देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको दिन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् ।

दशैं धार्मिक र सांस्कृतिक पर्वका साथै अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको उल्लेख गरेका छन् ।

विजया दशमीले समुदाय, संस्थाहरु, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंदै आएको छ र बनाउनु पर्ने शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो भएको भन्दै विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा विश्व प्रसिद्ध रहेको उनको भनाइ छ ।

कोरोनाको महामारीको चपेटामा विश्वसंगै नेपाल पनि आक्रान्त बनेको भन्दै यसको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पुरै असफल भएको तर्क गरेको छन् । कोरोनाले आम जनताको स्वास्थ्य खतरामा परेको, अर्थतन्त्र धराशायी भएको शुभकामना सन्देशमा उल्लेख छ । जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रीरहेको भन्दै सरकार जनताका प्रति संवेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको उनको आरोप छ ।

देशमा सरकारको उपस्थिति नै नरहेको आभाष हुन थालिसकेको भन्दै कोरोना रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी देखिएको उल्लेख छ । अतः हाम्रा सामाजिक सांस्कृतिक पर्वहरु मनाउँदा आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गरेका छन् ।

मठ मन्दिर जांदा मास्क अनिवार्य लगाउन, भौतिक दुरि कायम राख्न, घर-डेरामै सिमित रहेर पर्व मनाउन समस्त सबै नेपालीलाई आग्रह गरेका छन् ।


क्लिकमान्डु