कोरोना प्रभावित अर्थतन्त्रको पुनरुत्थानमा सरकार र राष्ट्र बैंक जुटनुपर्छ: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले कोभिडबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति जी–२४ सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने बताएका छन् ।

गभर्नर अधिकारीले पोलिसि मेकर्स राउन्टेबल एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) र जी–२४ द्वारा आयोेजित संयुक्त भर्चुअल बैठकमा यस्तो बताएका हुन् ।

उनले खासगरी साना तथा मझौला उद्यम-व्यवसायको पुनरुत्थानको निम्ति स्रोतको व्यवस्थापन, नीतिगत तथा नियामकीय सहुलियत, विद्युतीय बैंकिङ प्रणालीको प्रवद्र्धनका निम्ति केन्द्रित हुनुपर्ने बताए ।

गभर्नर अधिकारीले कोरोना संक्रमणको विषम परिस्थितिलाई विद्युतीय भुक्तानी प्रणाली र ई–कमर्स प्रवद्र्धनको अवसरका रूपमा लिइनुपर्ने आवश्यकता औंल्याए । ‘डिजिटल बैंकिङको प्रवद्र्धनबाट युवा पुस्ताको रोजगारी प्रवद्र्धन र उद्यमशीलताको विकासमा टेवा पुग्न सक्छ ।’

त्यस अवसरमा स्टेट बैंक अफ पाकिस्तानका गभर्नर डा. रेजा बकिरले कोभिड संक्रमणको परिस्थितिमा तरलता सिर्जना, नीतिगत दरको कटौती, पुनरकर्जा सुविधा, नीतिगत सहुलियतका लागि आफ्नो बैंकले अवलम्बन गरेका अभ्यासबारे जानकारी गराए ।

उक्त बैठकमा सहभागीहरूबीच कोभिड-१९ का कारण अर्थतन्त्रमा परेको असरको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत प्रयास र युवा पुस्ताको वित्तीय समावेशीकरणका विषयमा छलफल भएको थियो ।

साथै, कोभिड संक्रमणको परिस्थितिमा अर्थतन्त्रको पुनरुन्थानका निम्ति आ-
आफ्नो मुलुकमा अवलम्बन गरिएका नीतिगत अभ्यास बारेमा समेत सहभागीहरूबीच छलफल भएको थियो ।

आर्थिक वृद्धि र विकासमा युवा पुस्ताको भूमिका र डिजिटल वित्तीय साक्षरता मार्फत वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा समेत सहभागीहरूबीच छलफल भएको थियो ।


क्लिकमान्डु