दशैं नजिकिँदै गर्दा बजार अनुगमनमा तीब्रता, २ दिनमा म्याद सकिएको १७ हजार रुपैयाँको सामाग्री नष्ट



काठमाडौं । दशैंतिहार नजिकिँदै गर्दा विभिन्न सरकारी निकायले बजार अनुगमनमा तिब्रता दिएको छ । त्यसैगरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अनुगमनमा तीब्रता दिई विभिन्न पसललाई कारबाहीको दायरामा ल्याएको छ ।

दशैं नजिकिँदै गर्दा बजारमा सामानको मूल्य बढाउने, म्याद सकेको सामानको बिक्री गर्नेलगायत विभिन्न कार्यमा संलग्न हुने भएकाले बजार अनुगमनमा विशेष ध्यान दिएको विभागले जनाएको छ ।

अनुगमनमा विभागले मात्रै होइन उपत्यकाका तीन वटै महानगरपालिका र ७७ वटै जिल्लाका प्रशासन कार्यालयले अनुगमन गरिरहेको विभागका निर्देशक रविन्द्र आचार्यले जानकारी दिए ।

हाल विभागले दैनिक २० जनाको टोलीलाई बजार अनुगमनको लागि कर्मचारी खटाइरहेको र आवश्यक भएमा थप गरी बजार अनुगमनमा ध्यान दिइरहेको उनको भनाइ छ ।

‘लामो समयको बन्दाबन्दीले गर्दा सामान बिक्री हुन नपाउँदा धेरै सामानको म्याद सकिएको छ,’ उनले भने, ‘यस अवधिमा व्यापारीहरूले सर्वसाधारणलाई म्याद सकेको सामान बिक्री गर्ने गतिविधि मौलाएको हुनाले दशैंको बेलामा विशेष ध्यान दिएको छौं ।’ साथै, कोरोना महामारीका कारण विभिन्न समस्या उत्पन्न भइरहेको बेलामा व्यापारीहरूले म्याद सकिएको सामान बिक्री गरेमा झन समस्या उत्पन्न हुने उनी बताउँछन् ।

दुई दिनमा १७ हजारको सामान नष्ट

दशैंलक्षित विभागले अनुगमनमा तीब्रता दिएसँगै बजार अनुगमनबाट व्यापारीहरूको दुई दिनमा १७ हजार ८ सय रुपैयाँको सामान नष्ट गरेको छ । आइतबार मात्रै १३ हजार ७ सय ८५ रुपैयाँ बराबरको खाना अयोग्य वा म्याद सकिएकोले तत्कालै नष्ट गर्न लगाएको विभागको तथ्याङ्कले देखाउँदछ । उक्त दिनमा विभागले २१ वटा पसल तथा स्टोरमा अनुगमन गरेको थियो । त्यसैगरी सोमबार १९ वटा स्टोर अनुगमन गरेकोमा ४ हजार ६० रुपैयाँ बराबरको म्याद सकिएको वा खाना अयोग्य बस्तुहरू नष्ट गर्न लगाएको छ ।

यी अनुगमन गरेको स्थानमा नष्ट गर्न दिएको खाद्यान्न वस्तुहरू पुनः बिक्री वितरण गरेको अवस्थामा विभागले ५० हजारदेखि ३ लाखसम्म जरिवाना गर्ने विभागले जनाएको छ ।

यस्तै विभागले सामान्य कैफियत तत्काल सुधारका लागि आइतबार १३ व्यापारी र सोमबार १७ जना व्यापारीलाई निर्देशन दिएको छ । साथै, विभागले आवश्यक कागजात तथा स्पष्टिकरण पेश गर्न आइतबार ८ जना र सोमबार २ जनालाई बोलाइएको छ ।

व्यवसायीलाई स्वास्थ्य मापदण्ड बमोजिम व्यापार गर्न आग्रह

विभागले अनुगमन गरेकोमध्येमा सबैभन्दा बढी किराना पसल रहेको छ । कोरोना भाइरस महामारीको समय हुनाले विभागले सबैभन्दा बढी स्वास्थ्य मापदण्डलाई विशेष ध्यान दिएको बताए । यस्तै, दुई दिनमा विभागले १९ वटा किराना पसलहरूमा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड बमोजिम व्यापार व्यवसाय गर्न निर्देशन दिएको छ ।

त्यसैगरी दुई दिनमा ७ वटा औषधी पसल विभागले कारबाहीको दायरामा ल्याएको छ । कतिपय औषधी पसललाई कागजपत्र लिई विभागमा उपस्थिति हुन अनुरोध गरेका छन् भने कतिपय औषधी पलसमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।

साथै, विभागले दुई दिनमा अनुगमन गरेको विषयगत क्षेत्रमा अनलाइन १, मदिरा पसल ३, डेरी २, कपडा पसल २, व्यूटीपार्लर, क्लिनिक, खाद्यान्न र पानी गरी १÷१ पसल रहेको छ ।


क्लिकमान्डु