कन्ट्र्याक ट्रेसिङमा परेपछि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिनमा बसेका छन् । कोरोना पोजेटिभ देखिएका राष्ट्र बैंककै एक कर्मचारीसँग भेटघाट गरेका गभर्नर अधिकारी गत शुक्रबारदेखि होम क्वारेन्टिनमा बसेका हुन् ।

राष्ट्र बैंकको करारमा कार्यरत सिभिल इन्जिनिरलाई गत बिहीबार पीसीआर परीक्षण गर्दा कोरोना पजिटिभ देखिएको थियो ।

अघिल्लो साता कामको सिलसिलामा भैरहवा गएर फर्किएका ती इन्जिनियरले गभर्नर अधिकारीलाई कार्यकक्षमै भेटेर फिल्ड रिपोर्टिङको बिफ्रिङ गरेका थिए ।

२ साताअघि राष्ट्र बैंकको भैरहवा कार्यालयका २ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको थियो । ती कर्मचारीसँग सम्पर्कमा आएका इन्जिनियरलाई पनि कन्ट्र्याक ट्रेसिङमा परेपछि बिहीबार पीसीआर टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । ।

शुक्रबार फस्ट आवरमा ब्यवस्थापन कमिटिको मिटिङ बसिरहेका बेला ती इन्जिनियरलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि गभर्नर अधिकारी एक साता घरबाटै काम गर्ने भन्दै बाहिरिएका थिए ।

‘गत शुक्रबारदेखि गभर्नरसाब होम क्वारेन्टिनमा बस्नुभएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

अहिलेसम्म राष्ट्र बैंकका ११ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । स्रोतका अनुसार बालुवाटार, जनकपुर रबीरगञ्जका ३/३ जना र भैरहवाका २ कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो समय कोरोना हाइप्रोफाइलमा समेत देखिन थालेपछि कोरोना महामारीको आतंक बढेको छ ।

होम क्वारेन्टिनमा बस्नुअघि गभर्नर अधिकारीले २ पटक पीसीआर टेस्ट गराएका थिए । उनको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

कोरोना महामारीकैबीच गभर्नर नियुक्ति भएका अधिकारीले अत्यावश्यकबाहेक निकै कम व्यक्तिसँग मात्रै भेटघाट गरेका थिए । गभर्नर अधिकारीले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिसमेत आफ्नै कार्यकक्षबाट नेपाल टेलिभिजनमार्फत् सार्वजनिक गरेका थिए ।


पुष्प दुलाल