सरकारले लकडाउन हटायो तर केही क्षेत्रमा प्रतिबन्ध कायमै



काठमाडौं । मंगलबार (आज) रातिदेखि लकडाउन हटेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन हटाउने निर्णय गरेको हो । यद्यपि केही क्षेत्र भने अहिले नै खुल्ने भने छैनन् ।

‘हामी अब लकडाउनमा छौं भन्ने आज राति १२ बजेदेखि लकडाउन हट्यो,’ सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने । तर यसो भन्दैमा स्वास्थ्य सुरक्षाको जोखिम भने कायम नै रहेको बताए ।

सरकारले कोरोना संक्रमितहरु घट्दो अवस्थामा रहेकाले लकडाउन हटाइएको उनको भनाइ छ । यसअघि सरकारले साउन १५ गतेदेखि पर्यटन क्षेत्रसँग सम्बन्धि होटललगायत र भदौ १ गतेदेखि हवाई उडान सूचारु गर्ने निर्णय गरिसकेको छ ।

शैक्षिक संस्था, ट्युसन सेन्टर कहिलेदेखि खोल्ने भन्ने निर्णय भएको छैन । शैक्षिक संस्थाहरु अर्को निर्णय नभएसम्मका लागि बन्द रहनेछन् । जसमा विद्यालय, कलेज, ट्युसन सेन्टर खोल्न र सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार गर्न पाइने छैन् ।

त्यसका साथै सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु पनि बन्द रहनेछन् । त्यसैगरी सैलुन, ब्यूटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखानालगायतका हेल्थ क्लब पनि अर्को सूचना नभएसम्मका लागि बन्द हुनेछन् । समूहमा खेलिने खेलकुद र मैदानमा हुने खेल प्रस्तुती, सबै प्रकारका धार्मिक र सामाजिक स्थल, पुस्तकालय, संग्रालय र चिडियाखाना यसअवधिमा बन्द रहनेछन् ।


क्लिकमान्डु