आन्तरिक राजस्व विभागले गत वर्ष ४ खर्ब उठायो, साढे ११ लाख नयाँ करदाता थपिए



काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७६/७७ मा करिब ४ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी हो ।

विभागले आयकर, मूल्य अभिवृद्धिकर, अन्तशूल्क, शिक्षा सेवा शूल्कलगायत गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ गत आवमा राजस्व संकलन गरेको जानकारी दिएको छ ।

विभागले आव २०७५/७६ मा सरकारले कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको थियो । विभागले अघिल्लो आवको तुलनामा २६ अर्ब बढी राजस्व संकलन गरेको हो ।

संकलित राजस्वमध्ये आयकर वापत २ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत ९८ अर्ब २२ करोड रुपैयाँ, अन्तशुल्क वापत ६४ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । साथै, शिक्षा कर र अन्य गरी ४ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।

यसैगरी, विभागद्वारा उपलब्ध तथ्यांकअनुसार एक वर्षमा ११ लाख ४७ हजार नयाँ करदाताले स्थायी लेखा नम्बर लिएका छन् । जसमध्ये १ लाख ९४ हजार व्यवसायीक करदाता र ९ लाख ५३ हजार व्यक्तिगत करदाताले स्थायी लेखा नम्बर लिएका छन् ।

कोभिड–१९ का कारण करिब ४ महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक तथा प्राशासनिक क्षेत्रमा परेको समस्या, स्वास्थ्य जोखिम तथा मनोसामाजिक प्रतिकुलताले लगानी, उत्पादन, व्यवसाय र रोजगारी पारेको नकारात्मक असरले राजश्व संकलनमा प्रभावित विभागको भनाइ छ । यस्तो प्रतिकुल अवस्थामा पनि कर तिर्ने करदाता तथा कर संकलनमा योगदान दिने बैंकहरुलाई विभागले धन्यवाद ज्ञापन गरको छ ।


क्लिकमान्डु