बोर्ड अध्यक्ष ढुंगानाको मौद्रिक नीतिमा सुझावः सेयर धितो कर्जालाई अन्य सरह सुविधा चाहियो
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयरमा जाने मार्जिन लोनको सीमा बढाउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिका लागि लिएको सुझावमा उनले सेयर धितोमा कर्जा लिनेलाई अन्य कर्जा सरह नै सुविधा दिने व्यवस्था गर्नुपर्ने बताए ।
बैंकिङ क्षेत्रमा सेयर राखेर ऋण लिँदा २/३ वटा सीमा राख्दा लगानीकर्तालाई समस्या भएको उनको तर्क छ । कुल कर्जा बक्यौताको १० प्रतिशतसम्म लिन पाउने भन्ने व्यवस्था रहेको र अहिलेसम्म ३ खर्ब २० अर्ब रुपैयाँ कर्जा त्यो क्षेत्रमा जान सक्ने देखिने बताए ।
तर चुक्ता पुँजी र प्राथमिक पुँजीको सीमाले कुल कर्जा ५० अर्ब रुपैयाँभन्दा माथि जान नसक्ने र अहिले ४३ अर्बको सिलिङ रहेको भन्दै त्यसलाई निषेध नगरी कुनै एक बुँदाबाट जाने व्यवस्था गर्न सुझाव दिएका छन् ।
उनले बैंकहरुले २५ प्रतिशत ऋणपत्र जारी गर्ने भनिए पनि १४ वटा बैंकले मात्रै अनुमति लिएको दाबी गरे । ७७ अर्बको ऋणपत्र जारी हुनुपर्नेमा ३९ अर्बको ऋणपत्र जारी भएको र ३१ अर्ब रुपैयाँ ऋणपत्र जारी हुन बाँकी रहेको जानकारी गराए ।
उनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बारेमा निर्णय गर्दा पूँजी बजारमा पर्ने असरको ख्याल गर्न सुझाव दिएका छन् ।
पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाको ठूलो हिस्सा रहेको भन्दै सेयर लगानीकर्तामा प्रभाव पार्ने भएकाले यस्ता नीति लिँदा पुँजी बजारको विषयमा पनि ध्यान दिन, आफूले ल्याएको नीतिले सेयर बजारलाई कस्तो असर पर्छ भनेर ध्यान दिन सुझाव दिएका छन् ।