अब आइपीओ एक सय रुपैयाँमा नपाइने, बुक बिल्डिङको मस्यौदा तयार



काठमाडौं । सर्वसाधारणले अब साधारण सेयर(आइपीओ) १०० रुपैयाँमा नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ प्रणाली लागु गर्ने भन्दै निर्देशिकाको मस्यौदा तयार पारेको छ ।

धितोपत्र बोर्डले सार्वजनिक गरेको मस्यौदा कार्यान्वयनमा आएपछि सार्वजनिक निष्कासनमा आइपीओ १०० रुपैयाँमा पाइने छैन ।

अहिले केही उत्पादन मुलक कम्पनी बाहेक सबै सेयरको आइपीओ १०० रुपैयाँ अंकित मूल्यको दरले जारी हुन्छ । बुक बिल्डिङ प्रणाली लागु भएपछि आइपीओ १०० रुपैयाँमा पाइने छैन ।

बुक बिल्डिङको लागि सबैभन्दा पहिला संगठित संस्थाको विवरण तयार पार्नुपर्छ । यसको लागि संगठित संस्थासँग छलफल तथा सार्वजनिक सूचना जारी गर्नुपर्ने मस्यौदामा उल्लेख छ । सार्र्वजनिक निष्कासनमा संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियाबाट सेयर बोलकबोल प्रक्रियाबाट भर्नेछन् । संस्थागत लगानीकर्ताले बोलकबोल प्रक्रियाबाट सेयर भरेपछि त्यसको आधारमा कटअप मूल्य निकालिने छ ।

धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्राप्त औषत आशय मूल्यमा २० प्रतिशत घटाउदा हुने मूल्य कायम गर्नुपर्नेछ । यसपछि कटअप मूल्य निकालेपछि त्योभन्दा बढी मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्ताले सबै सेयर पाउँछन् त्यसपछि कटअप मूल्यमा भरेकाले सेयर पाउँछन् भने त्यो भन्दा कम मूल्यमा भरेका लगानीकर्ताले समानुपातिक तरिकाले सेयर पाउँनेछन् ।

जति मूल्यमा कटअप प्राइस निस्केको हुन्छ त्यही मूल्यमा सम्बन्धित कम्पनीले सर्वसाधरणलाई आइपीओ जारी गर्छन् ।

धितोपत्र बोर्डको निर्देशिका कार्यान्वयनमा आएमा १० वटा जीवन बीमा कम्पनी,तीनवटा निर्जीवन बीमा कम्पनी पूर्वाधार विकास बैंकले बुक बिल्डिङ प्रणालीबाट सेयर जारी गर्न पाउँनेछन् ।

राम्रो सम्भावना नभएका जलविद्युत् आयोजनाको भने सेयर नै बिक्री नै नहुँन सक्ने खतरापनि हुन्छ । अहिले नै केही जलविद्युत् कम्पनीको सेयर मूल्य १०० रुपैयाँभन्दा कम छ ।

धितोपत्र बोर्डले असार १४ भित्रमा मस्यौदामा राय दिन सरोकारवाला सबैलाई आग्रह गरेको छ । धितोपत्र बोर्डले साउनदेखिको निष्कासनमा बुक बिल्डिङ प्रणाली लागु गर्ने छ ।


क्लिकमान्डु